काठमाडौं । नेपालमा हुन्डी कारोबार नियन्त्रणका लागि शंकास्पद वित्तीय गतिविधिको पहिचान, संगठित सञ्जालमाथि अनुसन्धान र अनौपचारिक वित्तीय च्यानल प्रयोग गर्न प्रोत्साहित गर्ने कारणको रोकथाम गर्नुपर्ने देखिएको छ । बैंक खाता, डिजिटल वालेट, क्रिप्टोकरेन्सी र व्यापारिक कारोबारमार्फत हुन्डीको सञ्जाल विस्तार हुन थालेपछि नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ (एफआईयू–नेपाल) ले यसको नियन्त्रणका लागि तीनवटै क्षेत्रमा एकसाथ काम गर्नुपर्ने रणनीति अघि सारेको छ ।
एफआईयू–नेपालले सार्वजनिक गरेको ‘स्ट्राटेजिक एनालाइसिस रिपोर्ट अन हुन्डी, २०२६’ ले हुन्डीलाई केवल अवैध रकम हस्तान्तरणको विषयका रूपमा नभई सम्पत्ति शुद्धीकरण, अवैध विदेशी मुद्रा कारोबार, कर छली तथा संगठित वित्तीय अपराधसँग जोडिएको जोखिमका रूपमा विश्लेषण गरेको छ । प्रतिवेदनले बैंक तथा वित्तीय संस्था, नियामक निकाय, अनुसन्धान गर्ने निकाय र नीतिनिर्माताका लागि छुट्टाछुट्टै सुझाव दिँदै हुन्डी नियन्त्रणका लागि पहिचान, अनुसन्धान र रोकथामलाई प्राथमिकतामा राखेको छ ।
डेढ वर्षमा १ हजार ६७२ शंकास्पद रिपोर्ट
एफआईयूका अनुसार हुन्डीलाई छुट्टै सूचकका रूपमा वर्गीकरण गरी प्रतिवेदन संकलन गर्न थालेपछि २ जनवरी २०२५ देखि १६ जुलाई २०२६ सम्म १ हजार ६७२ वटा हुन्डीसँग सम्बन्धित शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदन (एसटीआर/एसएआर) प्राप्त भएका छन् । उक्त अवधिमा विभिन्न कसुरसँग सम्बन्धित कुल १५ हजार ८१५ वटा प्रतिवेदन प्राप्त भएकामा १०.५७ प्रतिशत हुन्डीसँग सम्बन्धित रहेका छन् ।
हुन्डीसँग सम्बन्धित कुल प्रतिवेदनमध्ये वाणिज्य बैंकबाट मात्रै १ हजार ५०३ अर्थात् ८९.८९ प्रतिशत प्राप्त भएका छन् । विकास बैंकबाट १२०, वित्त कम्पनीबाट २८, रेमिट्यान्स कम्पनीबाट १३ तथा भुक्तानी सेवा प्रदायक र सञ्चालकबाट ८ वटा प्रतिवेदन प्राप्त भएका छन् ।
एफआईयूले प्राप्त प्रतिवेदनमध्ये २०० वटालाई नमुनाका रूपमा छनोट गरी विस्तृत विश्लेषण गरेको थियो । त्यसअनुसार शंकास्पद व्यक्ति वा संस्थाको दर्ता ठेगानामध्ये ५२.७६ प्रतिशत मधेस प्रदेशमा रहेको पाइएको छ । त्यस्तै, शंकास्पद प्रतिवेदनमा जोडिएका व्यावसायिक संस्थामध्ये खुद्रा व्यापार र रेमिट्यान्स एजेन्ट तथा व्यवसायको हिस्सा क्रमशः ४३ प्रतिशत र ४१.५ प्रतिशत रहेको छ । यी दुई क्षेत्रको हिस्सा मात्रै ८४ प्रतिशत पुगेको छ ।
प्रतिवेदनले बैंक खाता खोलेको एक वर्षभित्रै करिब ४० प्रतिशत शंकास्पद प्रतिवेदन प्राप्त भएको पनि उल्लेख गरेको छ । यसले नयाँ खाता, तेस्रो पक्षका खाता र मनी म्युल अकाउन्टको प्रयोगलाई थप निगरानी गर्नुपर्ने देखाएको छ ।
पहिलो रणनीति : शंकास्पद कारोबारको पहिचान
हुन्डी नियन्त्रणको पहिलो रणनीति बैंकिङ तथा भुक्तानी प्रणालीमा हुने अस्वाभाविक कारोबारको समयमै पहिचान गर्नु हो । प्रतिवेदनले बैंक तथा वित्तीय संस्था, रेमिट्यान्स कम्पनी र भुक्तानी सेवा प्रदायकलाई ग्राहकको कारोबार निरन्तर निगरानी गर्न र नियमित कारोबारको प्रवृत्तिभन्दा फरक गतिविधि देखिएमा थप अनुसन्धान गर्न सुझाव दिएको छ ।
विशेषगरी एउटै खातामा विभिन्न व्यक्तिबाट सानो–सानो रकम जम्मा हुने र त्यसपछि तत्काल अन्य धेरै खातामा स्थानान्तरण हुने कारोबारलाई जोखिमपूर्ण संकेतका रूपमा पहिचान गर्नुपर्ने प्रतिवेदनको सुझाव छ । ग्राहकले बैंकमा उल्लेख गरेको पेसा, आम्दानी र वास्तविक कारोबारबीच असमानता देखिएमा पनि थप जाँच आवश्यक हुने उल्लेख छ ।
त्यस्तै, विद्यार्थी, गृहिणी वा नियमित आम्दानी नभएका व्यक्तिका खातामा अस्वाभाविक रूपमा ठूलो रकम जम्मा हुने, निष्क्रिय वा नयाँ खातामा एकाएक ठूलो कारोबार सुरु हुने, एउटै व्यक्तिले विभिन्न बैंकमा धेरै खाता सञ्चालन गर्ने तथा एउटै मोबाइल उपकरण वा आईपी ठेगानाबाट धेरै खातामा पहुँच हुने गतिविधि निगरानी गर्नुपर्ने सुझाव दिइएको छ ।
यसका लागि ग्राहक पहिचान प्रक्रिया (केवाईसी) नियमित अद्यावधिक गर्ने, उच्च जोखिम भएका ग्राहक तथा व्यवसायमा थप ग्राहक पहिचान प्रक्रिया (ईडीडी) लागू गर्ने र कारोबारको वास्तविक लाभग्राही पहिचान गर्नुपर्ने प्रतिवेदनको सुझाव छ ।
एफआईयूले हुन्डीसँग सम्बन्धित शंकास्पद संकेतलाई बैंकहरूको स्वचालित कारोबार निगरानी प्रणालीमा समावेश गर्न तथा कृत्रिम बुद्धिमत्ता (एआई) र मेसिन लर्निङको प्रयोगबाट अस्वाभाविक कारोबार पहिचान गर्न पनि सुझाव दिएको छ । डिजिटल वालेट तथा भुक्तानी सेवा प्रदायकले उपकरण र भौगोलिक स्थानसम्बन्धी विवरणको विश्लेषण गरी एउटै उपकरणबाट धेरै खाता सञ्चालन भइरहेको अवस्था पहिचान गर्नुपर्ने उल्लेख छ
बैंक तथा वित्तीय संस्थाले शंकास्पद कारोबार पहिचान भएपछि goAML प्रणालीमार्फत एफआईयूमा समयमै एसटीआर/एसएआर पठाउनुपर्ने र प्रतिवेदनमा सम्बन्धित व्यक्ति, संस्था, रकम, कारोबारको स्रोत तथा गन्तव्य र आपसी सम्बन्धको पर्याप्त विवरण समावेश गर्नुपर्ने सुझाव दिइएको छ ।
दोस्रो रणनीति : हुन्डीको सञ्जालसम्म अनुसन्धान
हुन्डी नियन्त्रणको दोस्रो रणनीति व्यक्तिगत कारोबारी वा रकम पठाउने व्यक्तिमा मात्र सीमित नभई यसको पछाडि रहेको संगठित सञ्जाल, सञ्चालक, लगानीकर्ता र अन्तिम लाभग्राहीसम्म अनुसन्धान विस्तार गर्नु हो ।
प्रतिवेदनले हुन्डी कारोबारमा संलग्न सबै रकम अनिवार्य रूपमा आपराधिक स्रोतबाट आएको नहुन सक्ने उल्लेख गर्दै अनुसन्धानमा जोखिममा आधारित दृष्टिकोण अपनाउन सुझाव दिएको छ । विशेषगरी लागूऔषध कारोबार, सुन तस्करी, ठगी, कर छली तथा अनलाइन जुवाबाट प्राप्त रकमको ओसारपसारमा संलग्न ठूला सञ्चालक र सञ्जाललाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख छ ।
यसका लागि नेपाल प्रहरी, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग र एफआईयूबीच वित्तीय सूचना आदानप्रदान तथा संयुक्त अनुसन्धान बढाउनुपर्ने सुझाव दिइएको छ । अनुसन्धानमा एफआईयूबाट प्राप्त वित्तीय सूचनाको प्रभावकारी प्रयोग गर्ने, अनुसन्धानकर्तालाई डिजिटल वित्तीय अपराधसम्बन्धी विशेष तालिम दिने र नयाँ प्रविधिमा आधारित अनुसन्धान क्षमता विकास गर्नुपर्ने प्रतिवेदनको निष्कर्ष छ ।
विशेषगरी हुन्डी कारोबारमा डिजिटल माध्यमबाट समन्वय हुने र क्रिप्टोकरेन्सीमार्फत सञ्चालकबीच हिसाब मिलान हुन सक्ने भएकाले मोबाइल, कम्प्युटर तथा अन्य डिजिटल उपकरणको फरेन्सिक अनुसन्धान गर्नुपर्ने सुझाव छ । क्रिप्टोकरेन्सीको कारोबार पत्ता लगाउन ब्लकचेन एनालिटिक्स उपकरण प्रयोग गर्न पनि भनिएको छ ।
त्यस्तै, हुन्डीबाट आर्जित सम्पत्तिको पहिचान गरी रोक्का तथा जफत गर्ने र हुन्डीसम्बन्धी महत्त्वपूर्ण मुद्दामा सम्पत्ति शुद्धीकरणको समानान्तर अनुसन्धानसमेत अघि बढाउनुपर्ने उल्लेख छ । अनुसन्धानका क्रममा विदेशी मुलुकका वित्तीय जानकारी इकाइसँग सहकार्य गर्न, प्रारम्भिक चरणमा इन्टरपोल तथा एग्मोन्ट ग्रुपमार्फत सूचना आदानप्रदान गर्न र आवश्यक प्रमाणका लागि औपचारिक पारस्परिक कानुनी सहायता प्रक्रिया अपनाउन सुझाव दिइएको छ ।
नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्लो पाँच आर्थिक वर्षमा हुन्डीसम्बन्धी १९७ वटा अनुसन्धान सुरु भएका छन् । तीमध्ये १९० वटा मुद्दा अदालतमा दायर भएका छन् भने १०३ वटा मुद्दामा अन्तिम फैसला भएको छ । यी मुद्दामा कुल ३३१ जना व्यक्ति संलग्न रहेको प्रतिवेदनमा उल्लेख छ ।
उक्त अवधिमा ३८७ करोड २ लाख रुपैयाँ बिगो दाबी गरिएको छ भने ३८६ करोड १३ लाख रुपैयाँ बराबरको रकम तथा सम्पत्ति बरामद भएको छ । त्यस्तै, १६ करोड ४४ लाख रुपैयाँ बराबरको सम्पत्ति रोक्का र २७३ करोड ६२ लाख रुपैयाँ बराबरको सम्पत्ति जफत भएको छ ।
हुन्डीसम्बन्धी अनुसन्धान आर्थिक वर्ष २०७८/७९ मा १८ वटा रहेकामा आर्थिक वर्ष २०८१/८२ मा बढेर ६० पुगेको थियो । प्रतिवेदनले पाँच वर्षमा जफत भएको रकम कुल बिगो दाबीको करिब ७१ प्रतिशत बराबर रहेको र अदालतको फैसलामा संलग्न व्यक्तिको औसत संख्या १.९ बाट बढेर ३.५ पुगेको जनाएको छ । यसले अनुसन्धान व्यक्तिगत कारोबारीभन्दा माथि उठेर सञ्जालमा संलग्न व्यक्तिसम्म विस्तार हुन थालेको संकेत गरेको छ ।
तेस्रो रणनीति : हुन्डी कारोबारलाई प्रोत्साहन गर्ने कारणको रोकथाम
हुन्डी नियन्त्रणको तेस्रो तथा दीर्घकालीन रणनीति अनौपचारिक वित्तीय माध्यम प्रयोग गर्न प्रोत्साहित गर्ने कारण घटाउनु हो । प्रतिवेदनले औपचारिक रेमिट्यान्स प्रणालीलाई सस्तो, छिटो र सहज बनाउनु यसको महत्त्वपूर्ण उपाय हुने उल्लेख गरेको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले औपचारिक रेमिट्यान्स माध्यमको सट्टा हुन्डी प्रयोग गर्नुमा सेवा शुल्क, विनिमय दर, पहुँच तथा कारोबारको सहजताजस्ता पक्षले भूमिका खेल्न सक्ने भएकाले बैंक तथा रेमिट्यान्स कम्पनीमार्फत उपलब्ध हुने सेवाको प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्ने सुझाव दिइएको छ । यसका लागि प्रतिस्पर्धी विनिमय दर, कम लागतका डिजिटल रेमिट्यान्स विकल्प तथा औपचारिक माध्यम प्रयोग गर्न प्रोत्साहन गर्ने उपाय अपनाउनुपर्ने प्रतिवेदनको सिफारिस छ ।
त्यस्तै, नेपालमा आयात–निर्यात कारोबारमा वास्तविक मूल्यभन्दा कम वा बढी बीजक घोषणा गरी बाँकी रकम हुन्डीमार्फत मिलान गर्ने जोखिम नियन्त्रण गर्न भन्सार, बैंक तथा आन्तरिक राजस्व विभागबीच तथ्यांक मिलान गर्नुपर्ने उल्लेख छ । व्यापार पारदर्शिता इकाइ (ट्रेड ट्रान्सपरेन्सी युनिट) लाई सुदृढ गरी आयात तथा निर्यातको मूल्य, भुक्तानी र बैंकिङ कारोबारबीचको असंगति पहिचान गर्न सुझाव दिइएको छ ।
सीमावर्ती क्षेत्रबाट हुने नगद ओसारपसार नियन्त्रण गर्न नगद घोषणा व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने प्रतिवेदनको अर्को सुझाव छ । यसका लागि सशस्त्र प्रहरी बल, भन्सार प्रशासन र भारतीय समकक्षी निकायसँग समन्वय बढाउनुपर्ने उल्लेख छ ।
त्यस्तै, हुन्डी कारोबारमा संलग्न व्यक्ति तथा कम्पनीलाई दिइने कानुनी सजाय पर्याप्त प्रभावकारी छ कि छैन पुनरावलोकन गर्न, दोहोर्याएर अपराध गर्ने व्यक्ति तथा कानुनी संस्थामाथि प्रभावकारी कारबाही सुनिश्चित गर्न र हुन्डी नियन्त्रणका लागि समयबद्ध कार्ययोजना बनाउन पनि सुझाव दिइएको छ । विदेशस्थित नेपाली नियोगमार्फत वैदेशिक रोजगारीका प्रमुख गन्तव्यमा जनचेतना तथा सूचना संकलन कार्यक्रम सञ्चालन गर्नुपर्ने उल्लेख छ ।
एफआईयूले पनि निगरानी र अन्तर्राष्ट्रिय सहकार्य बढाउने
हुन्डी नियन्त्रणका लागि एफआईयू–नेपालले आफ्नै विश्लेषण प्रणालीलाई थप प्रभावकारी बनाउने योजना अघि सारेको छ । यसअन्तर्गत goAML प्रणालीमा हुन्डीसँग सम्बन्धित थप उपसूचक समावेश गर्ने, बैंक तथा वित्तीय संस्था र अन्य रिपोर्टिङ संस्थाले पठाउने प्रतिवेदनको गुणस्तर सुधार गर्न प्रतिक्रिया दिने तथा विभिन्न संस्थामा देखिएका कारोबारलाई एउटै सञ्जालका रूपमा विश्लेषण गर्ने योजना छ ।
त्यस्तै, भारत, खाडी मुलुक, मलेसिया, दक्षिण कोरिया, जापान र रुसजस्ता वैदेशिक रोजगारी तथा कारोबारका प्रमुख मार्गसँग सम्बन्धित विदेशी वित्तीय जानकारी इकाइसँग एग्मोन्ट सेक्योर वेमार्फत सूचना आदानप्रदान बढाउने योजना पनि प्रतिवेदनमा उल्लेख छ । हुन्डी कारोबारको प्रवृत्ति र जोखिमबारे प्रत्येक छ महिनामा अद्यावधिक विवरण सार्वजनिक गर्ने लक्ष्यसमेत राखिएको छ ।
नेपालमा हुन्डी कारोबार मुलुकी अपराध संहिताको दफा १२५क तथा विदेशी विनिमय (नियमित गर्ने) ऐनअन्तर्गत निषेधित छ । त्यस्तै, २ जनवरी २०२५ को नेपाल राजपत्रको सूचनामार्फत हुन्डीलाई सम्पत्ति शुद्धीकरण निवारण ऐनअन्तर्गत सम्पत्ति शुद्धीकरणको पूर्वकसुरका रूपमा समेत समावेश गरिएको छ ।
समग्रमा, एफआईयूको प्रतिवेदनले हुन्डी नियन्त्रणलाई केवल अवैध कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने वा रकम जफत गर्ने विषयमा सीमित नराखी बैंकिङ प्रणालीको निगरानी, संगठित सञ्जालमाथि अनुसन्धान र औपचारिक वित्तीय सेवाको पहुँच तथा प्रतिस्पर्धात्मकता सुधारसँग जोडेको छ । डिजिटल प्रविधि र औपचारिक वित्तीय प्रणालीको प्रयोगसमेत बढ्दै गएको अवस्थामा कानुनी प्रतिबन्धसँगै पहिचान, अनुसन्धान र रोकथामका तीनवटै रणनीति प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने देखिएको छ ।
प्रतिक्रिया 0