काठमाडौं। प्रधानमन्त्री बालेन्द्र साहले नेपालले दीर्घकालीन आर्थिक समृद्धिका लागि श्रमिक मात्र विदेश पठाउने होइन, स्वदेशमै उत्पादन बढाएर ती उत्पादन विश्व बजारमा निर्यात गर्नुपर्ने बताएका छन्। मंगलबार तयारी पोशाक उद्योग संघका पदाधिकारीसँग भएको भेटमा उनले तयारी पोशाक उद्योगलाई निर्यातमुखी अर्थतन्त्रको प्रमुख आधारका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन्।
संघका अध्यक्ष पशुपतिदेव पाण्डेका अनुसार भेटमा तयारी पोशाक उद्योगका समस्या समाधान, निर्यात विस्तार, लगानी प्रवर्द्धन तथा नेपाल किन बंगलादेश, भियतनाम, चीन, भारत र श्रीलंकाभन्दा पछाडि परेको भन्ने विषयमा विस्तृत छलफल भएको थियो। प्रधानमन्त्रीले उद्योगसँग सम्बन्धित मन्त्रालयमा रोकिएका काम तत्काल अघि बढाउन निर्देशन समेत दिएका छन्।
बैठकमा 'ग्रिन गार्मेन्ट भिलेज' निर्माणको प्रस्तावबारे पनि विशेष छलफल भएको अध्यक्ष पाण्डेले जानकारी दिए। प्रधानमन्त्री साहले स्वदेशी कच्चा पदार्थमा आधारित तयारी पोशाक उद्योगको विकासका लागि आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाउँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई टेक्सटाइल काउन्सिल गठनको प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्। साथै अमेरिका लगायतका मुलुकसँग स्वतन्त्र व्यापार सम्झौता (FTA), वैदेशिक प्रत्यक्ष लगानी (FDI) आकर्षित गर्ने, बहुराष्ट्रिय गार्मेन्ट कम्पनी भित्र्याउने तथा हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ।
प्रतिक्रिया 0