काठमाडौँ । एसीसी पुरुष प्रिमियर कप २०२६ को पहिलो सेमिफाइनलमा ओमानविरुद्ध नेपाल १४७ रनमा अलआउट भएको छ। क्वालालम्पुरस्थित बायुएमास ओभलमा टस जितेर ओमानले पहिले बलिङ रोजेपछि ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनाएको हो। अब ओमानले फाइनल प्रवेशका लागि १४८ रनको लक्ष्य पछ्याउनेछ।
नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रन बनाए। उनले ७६ बलमा ४ चौकासहित अर्धशतकीय इनिङ्स खेले। बासिर अहमदले ८८ बलमा ३ चौका र १ छक्कासहित ४७ रन बनाए। दिपेन्द्र र बासिरले पाँचौँ विकेटका लागि ९३ रनको महत्वपूर्ण साझेदारी गर्दै संकटमा परेको नेपालको इनिङ्सलाई सम्हालेका थिए। तर बासिर १२९ रनको अवस्थामा आउट भएपछि नेपालले थप १८ रन जोड्दा बाँकी पाँच विकेट गुमाएको थियो।
नेपालका ओपनर देव खनालले १३ तथा आसिफ शेखले ११ रन बनाए। इशान पाण्डे १, रोहितकुमार पौडेल ३, गुल्सन झाले ७, करण केसीले ५, कप्तान सन्दीप लामिछानेले ३ र शेर मल्लले खाता खोल्न सकेनन्। ललित राजवंशी ० रनमा अविजित रहे। नेपालले अतिरिक्तबाट ६ रन पाएको थियो।
ओमानका बलरमध्ये जे ओडेड्राले १० ओभरमा २६ रन खर्चेर ३ विकेट लिए भने हस्नैन शाहले ८.४ ओभरमा २८ रन दिँदै ३ विकेट लिए। मोहम्मद इमरानले २ तथा मुजिबुर अली र शकिल अहमदले समान १ विकेट लिए। शीर्षक्रमका ब्याटरहरू सस्तोमै आउट भएपछि दबाबमा परेको नेपाललाई दिपेन्द्र र बासिरको साझेदारीले प्रतिस्पर्धात्मक योगफलतर्फ पुर्याए पनि अन्तिमतिर विकेट पतन हुँदा १५० रनको आसपासमै सीमित हुनुपरेको हो।
अब ओमानलाई फाइनल पुग्न ५० ओभरमा १४८ रन आवश्यक छ। नेपाल र ओमानबीचको यो सेमिफाइनल जित्ने टोलीले प्रिमियर कपको फाइनलमा स्थान बनाउनेछ भने प्रतियोगिताको उपाधि दौडसँगै एसिया कपमा स्थान बनाउने लक्ष्य पनि जोडिएको छ।
No advertisements available
प्रतिक्रिया 0