काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न मुलुकका १२१ विदेशी पर्यटक तथा यात्रुको उद्धार गरिएको छ। नेपाल पर्यटन बोर्डले शुक्रबार अपराह्न ३ः३० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।
बोर्डका अनुसार उद्धार गरिएकामध्ये भारतका ८५, चीनका १६, दक्षिण कोरियाका ९, अमेरिकाका २, रुसका २, इटालीका २, बुल्गेरियाका १ र स्विट्जरल्यान्डका १ जना रहेका छन्। उद्धार गरिएका थप ३ जनाको राष्ट्रियता पुष्टि हुन बाँकी रहेको बोर्डले जनाएको छ।
बाढीपछि रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत प्रभावित क्षेत्रमा रहेका तथा ती क्षेत्र हुँदै यात्रा गरिरहेका पर्यटक र यात्रुको अवस्था पहिचान तथा उद्धारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र पर्यटन क्षेत्रका सरोकारवालाले समन्वय गरिरहेका छन्।
पर्यटन बोर्डले प्रभावित क्षेत्रमा रहेका पर्यटक तथा यात्रुलाई सुरक्षित रहन, आधिकारिक सूचनामा ध्यान दिन र सुरक्षाकर्मी तथा स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरेको छ। आपत्कालीन सहयोगका लागि टोल फ्री नम्बर १२३४, पर्यटन हटलाइन ११४४ तथा पर्यटक प्रहरी ९८५१२८९४४५ मा सम्पर्क गर्न सकिने बोर्डले जनाएको छ।
No advertisements available
प्रतिक्रिया 0