सन्दीपले लिए ५ विकेट, बहराइन ८७ रनमै अलआउट, नेपाल ७ विकेटले विजयी
मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ। समूह ‘ए’ अन्तर्गत सोमबार भएको खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो। बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा टस जितेर पहिले बलिङ गरेको नेपालले बहराइनलाई ३६.२ ओभरमा ८७ रनमै अलआउट गरेको थियो।
नेपालका कप्तान तथा लेगस्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा ४ मेडनसहित १४ रन खर्चेर ५ विकेट लिए। ललित राजवंशीले ६.२ ओभरमा २० रन खर्चेर ३ विकेट लिए भने करण केसीले ८ ओभरमा १४ रन खर्चेर २ विकेट लिए। नेपाली बलरको अनुशासित प्रदर्शनका कारण बहराइनको ब्याटिङ लाइनअप सुरुदेखि नै दबाबमा परेको थियो। बहराइनका फिआज अहमेदले सर्वाधिक १५, मुहम्मद वासिमले १३ र अली दाउदले १० रन बनाए।
८८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ७ विकेट बाँकी छँदै लक्ष्य पूरा गरेको हो। यस जितसँगै नेपालले समूह ‘ए’ मा महत्वपूर्ण दुई अंक जोडेको छ। प्रतियोगिताको २०२६ संस्करण ५० ओभरको ढाँचामा आयोजना भइरहेको छ र समूह चरणबाट उत्कृष्ट दुई टोली सेमिफाइनलमा पुग्नेछन्। नेपालले अब समूह चरणमा मलेसिया, साउदी अरेबिया र हङकङसँग प्रतिस्पर्धा गर्नेछ।
No advertisements available
प्रतिक्रिया 0