काठमाडौं । केही समयअघिसम्म विश्वभरका कम्पनीमा कर्मचारीलाई एउटै सन्देश दिइन्थ्यो काममा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गर। काम छिटो बनाउने, उत्पादकत्व बढाउने र प्रतिस्पर्धामा अगाडि रहने उद्देश्यले कम्पनीहरूले एआई उपकरण, सफ्टवेयर र पूर्वाधारमा ठूलो लगानी गरे।
तर एआईको प्रयोग विस्तार हुँदै जाँदा कम्पनीहरूले अब अर्को आधारभूत कुरा सम्झन थालेका छन बजेट। एआईमा लगानी र प्रयोग बढ्दै गएपछि अहिले कम्पनीका सञ्चालक समिति र व्यवस्थापन तहमा नयाँ प्रश्न उठ्न थालेको छ एआईमा खर्च गरेको रकमको प्रतिफल कति आयो? यसलाई एआईप्रतिको उत्साह घटेको संकेतभन्दा पनि एआई लगानीको अर्को चरणका रूपमा हेरिएको छ। सुरुवाती चरणमा प्रतिस्पर्धी कम्पनीभन्दा पछि नपर्न एआई अपनाउने दबाब थियो। अहिले भने एआई प्रयोग गर्नु मात्र पर्याप्त नभई त्यसबाट वास्तविक व्यावसायिक मूल्य सिर्जना भयो कि भएन भन्ने मापन गर्नुपर्ने अवस्था आएको छ।
बजेटभन्दा तीव्र गतिमा बढ्दै एआई खर्च
म्याकिन्सेको जुलाई २०२६ को अध्ययनअनुसार एआईको लागत व्यवस्थापन कम्पनीका लागि नयाँ चुनौती बनेको छ। अध्ययनमा सहभागी संस्थामध्ये ९३ प्रतिशतले आफ्नो एआई बजेट तोकिएको सीमाभन्दा बढी भएको बताएका छन्। एआई परीक्षणको चरणबाट व्यापक कार्यान्वयनमा जाँदा खर्च झन्डै चार गुणासम्म बढ्न सक्ने अध्ययनले देखाएको छ।
केही संस्थाले एक वर्षका लागि छुट्याएको एआई बजेट केही महिनामै सकिएको समेत अध्ययनमा उल्लेख छ। एआईको खर्च केवल सफ्टवेयर वा उपकरण खरिदमा सीमित छैन। एआई मोडलको प्रयोग, तथ्यांक व्यवस्थापन, क्लाउड कम्प्युटिङ, सुरक्षा, प्रणाली एकीकरण, कर्मचारीको तालिम र एआईमा आधारित स्वचालित प्रणाली सञ्चालनमा समेत खर्च हुन्छ।
विशेषगरी एआईमा आधारित स्वचालित प्रणालीको प्रयोग बढ्दै जाँदा वास्तविक खर्च अनुमान गर्न थप चुनौतीपूर्ण भएको छ। एउटै काम सम्पन्न गर्न आवश्यक कम्प्युटिङ शक्ति र एआई मोडलको प्रयोग फरक हुन सक्ने भएकाले कम्पनीलाई कुल खर्च नियन्त्रण गर्न कठिन भइरहेको छ।
एआई प्रयोग भयो भन्दैमा प्रतिफल आउँदैन
एआईमा ठूलो लगानी गरिरहेका कम्पनीबीच प्रतिफल भने समान देखिएको छैन। पीडब्ल्यूसीको २०२६ को विश्लेषणअनुसार १ हजार २१७ संस्थाको अध्ययन गर्दा एआईबाट प्राप्त हुने वित्तीय प्रतिफलको ७४ प्रतिशत हिस्सा शीर्ष २० प्रतिशत कम्पनीले प्राप्त गरिरहेका छन्। यसले एआई प्रयोगको मात्रा र एआईबाट प्राप्त हुने वास्तविक मूल्यबीच ठूलो अन्तर हुन सक्ने देखाउँछ।
अर्थात्, कर्मचारीले कति पटक एआई प्रयोग गरे, कम्पनीले कति वटा एआई उपकरण थप्यो वा कति धेरै काम एआईमार्फत गरियो भन्ने तथ्यांक मात्र पर्याप्त हुँदैन।
अब कम्पनीले एआईले कति लागत घटायो, कति समय बचायो, उत्पादकत्व कति बढायो, बिक्री वा आम्दानीमा कति योगदान गर्यो र नयाँ व्यवसायिक अवसर कति सिर्जना गर्यो भन्ने हिसाब खोज्न थालेका छन्।
जति धेरै एआई, त्यति राम्रो सोचमा परिवर्तन
एआईको सुरुवाती चरणमा धेरै कम्पनीमा ‘पहिला प्रयोग गरौँ, पछि मूल्यांकन गरौँ’ भन्ने प्रवृत्ति थियो। प्रतिस्पर्धी कम्पनीले एआई प्रयोग गरिरहेको अवस्थामा आफू पछि परेको नदेखियोस् भन्ने दबाबले पनि एआईमा लगानी बढाएको थियो। तर खर्चको वास्तविक आकार देखिन थालेपछि रणनीति परिवर्तन हुन थालेको छ।
कम्पनीहरू अब सबै काममा महँगो र शक्तिशाली एआई मोडल प्रयोग गर्नुको सट्टा कुन कामका लागि कस्तो मोडल आवश्यक छ भनेर छुट्याउन थालेका छन्। सामान्य कामका लागि कम लागतका मोडल प्रयोग गर्ने र जटिल काममा मात्र महँगो मोडल प्रयोग गर्ने रणनीति अघि बढिरहेको छ। यससँगै एआई प्रयोगको निगरानी, खर्चको सीमा र प्रत्येक एआई परियोजनाको प्रतिफल मापनमा पनि जोड बढेको छ।
एआई खर्चमा वित्तीय अनुशासनको खोजी
एआई विस्तारको सुरुवाती चरणमा यसको नेतृत्व प्रविधि र नवप्रवर्तनसँग सम्बन्धित टोलीले गरे पनि अहिले वित्तीय अधिकारीको भूमिका पनि महत्वपूर्ण बन्न थालेको छ।
कुन एआई परियोजनामा कति लगानी गर्ने, कुन परियोजनालाई निरन्तरता दिने र कुनबाट अपेक्षित प्रतिफल नआएपछि रोक्ने भन्ने निर्णयमा वित्तीय विश्लेषण जोडिन थालेको छ। यसले एआईलाई केवल प्रविधिको विषय नभई लगानी र व्यवसायिक प्रतिफलसँग जोडिएको वित्तीय निर्णय बनाइरहेको छ।
लगानी भने रोकिएको छैन
एआई खर्चमा प्रश्न उठ्न थाले पनि कम्पनीहरूले एआईमा लगानी गर्न छाडेका भने छैनन्। बरु ठूला प्रविधि कम्पनीहरूले एआई पूर्वाधारमा अझै ठूलो लगानी गरिरहेका छन्।
यसले अहिलेको बहस ‘एआईमा लगानी गर्ने कि नगर्ने?’ भन्नेभन्दा पनि ‘कहाँ, कति र कस्तो प्रतिफलका लागि लगानी गर्ने?’ भन्ने दिशामा गएको देखाउँछ।
एआईमा ठूलो रकम खर्च गरिरहेका कम्पनीका लागि अब लगानीको औचित्य प्रमाणित गर्नु महत्वपूर्ण बन्न थालेको छ। प्रविधि किन्नु र प्रयोग गर्नु पहिलो चरण भए पनि त्यसबाट व्यवसायमा देखिने परिणाम हासिल गर्नु दोस्रो र अझ महत्वपूर्ण चरण बनेको छ।
अब प्रश्न हुनेछ, एआईले कति मूल्य सिर्जना गर्यो?
एआईको अर्को चरणमा कम्पनीहरूले केवल एआई प्रयोगको संख्या वा कर्मचारीको प्रयोग दरलाई सफलताको मापदण्ड बनाउने छैनन्। त्यसको सट्टा एआईबाट सिर्जना भएको वास्तविक मूल्य मापन गर्नुपर्ने दबाब बढ्ने देखिन्छ।
एआईले कर्मचारीको समय बचायो कि नयाँ खर्च मात्र थप्यो? महँगो एआई मोडल आवश्यक थियो कि कम लागतको विकल्पले पनि काम चल्थ्यो? एआईबाट बचत भएको समय वास्तवमै आम्दानी वा उत्पादकत्वमा परिणत भयो कि भएन? एआई परियोजनाले अपेक्षित प्रतिफल दियो कि दिएन? यस्ता प्रश्न अब कम्पनीका व्यवस्थापन र सञ्चालक समितिका लागि महत्वपूर्ण बन्न थालेका छन्।
सरी एआईको यात्रा अहिले ‘प्रयोग गर’बाट ‘मापन गर’ र ‘मापन गर’बाट ‘प्रतिफल देऊ’ भन्ने चरणतर्फ अघि बढिरहेको छ।एआईमा लगानी अब केवल प्रविधिको विषय रहेन। यो बजेट, लागत, उत्पादकत्व, आम्दानी र लगानीको प्रतिफलसँग जोडिएको व्यावसायिक निर्णय बन्न थालेको छ।
अब, कम्पनीका बोर्डरुममा एआईबारे सबैभन्दा महत्वपूर्ण प्रश्न ‘हामीले एआई प्रयोग गरेका छौँ कि छैनौँ?’ भन्ने मात्र रहने छैन। प्रश्न अझ सीधा हुनेछ ‘एआईमा खर्च गरेको पैसाले कम्पनीलाई कति मूल्य दियो?’
प्रतिक्रिया 0