सञ्चय कोषले ल्यायो सवारी सापटी सुविधा

मंगलबार, ५ श्रावण २०८३, राति ९:०६
Font Size: 20px

काठमाडौं। कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई सवारी साधन खरिदका लागि सहज वित्तीय सुविधा उपलब्ध गराउने उद्देश्यले ‘सञ्चयकर्ता सवारी साधन सापटी विनियमावली, २०८२’ कार्यान्वयनमा ल्याएको छ। सञ्चालक समितिबाट स्वीकृत उक्त विनियमावली साउन १ गतेदेखि लागू भएको हो। नयाँ व्यवस्थाले सापटीको उद्देश्य, योग्यता, अधिकतम सीमा, भुक्तानी अवधि, धितो, आवेदन प्रक्रिया तथा आवश्यक कागजातबारे स्पष्ट व्यवस्था गरेको कोषले जनाएको छ।

नयाँ विनियमावलीअनुसार सञ्चयकर्ताले नयाँ दुईपाङ्ग्रे, चारपाङ्ग्रे तथा तोकिएको मापदण्ड पूरा गरेका पुराना चारपाङ्ग्रे सवारी साधन खरिदका लागि सापटी लिन सक्नेछन्। विद्युतीय सवारी साधनलाई विशेष प्राथमिकता दिइएको छ। नयाँ विद्युतीय सवारी खरिदका लागि अधिकतम ४५ लाख रुपैयाँ वा खरिद मूल्यको ७० प्रतिशतमध्ये जुन कम हुन्छ, त्यति रकमसम्म सापटी पाइनेछ। अन्य नयाँ सवारीका लागि भने अधिकतम ४० लाख रुपैयाँ वा खरिद मूल्यको ७० प्रतिशतसम्म सापटी उपलब्ध हुनेछ।

पुराना चारपाङ्ग्रे सवारी खरिदका हकमा सवारी पाँच वर्षभन्दा पुरानो नभएको हुनुपर्नेछ। यस्तो अवस्थामा खरिद मूल्य वा प्राविधिक मूल्याङ्कनमध्ये जुन कम हुन्छ, त्यसको ६० प्रतिशतसम्म सापटी उपलब्ध गराइने व्यवस्था गरिएको छ। नयाँ सवारीको सापटी अधिकतम सात वर्ष र पुरानो सवारीको पाँच वर्षभित्र चुक्ता गर्नुपर्नेछ भने सञ्चयकर्ताले चाहेमा निर्धारित समयअघि नै अग्रिम रूपमा सापटी भुक्तानी गर्न सक्नेछन्।

सापटी लिन कम्तीमा तीन वर्षदेखि नियमित सञ्चय कोषमा रकम जम्मा गरेको हुनुपर्ने र उमेर वा पदावधिका आधारमा अवकाश हुन कम्तीमा छ महिना बाँकी रहनुपर्ने व्यवस्था गरिएको छ। साथै मासिक किस्ता सञ्चयकर्ता तथा उनका जीवनसाथीको स्वघोषित मासिक आम्दानीको ५० प्रतिशतभन्दा बढी नहुने गरी निर्धारण गरिनेछ। कोषले नयाँ व्यवस्थामार्फत सापटी प्रक्रियालाई थप सरल, व्यवस्थित र पारदर्शी बनाउँदै विशेषगरी विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया 0