प्रभावित क्षेत्रमा यात्रा नगर्न आग्रह
काठमाडौं । रसुवाको टिमुरे–स्याफ्रुबेँसी क्षेत्रमा भोटेकोशी नदीमा आएको आकस्मिक बाढीपछि नेपाल पर्यटन बोर्डले ट्राभल एडभाइजरी जारी गर्दै पर्यटकलाई बाढी प्रभावित क्षेत्रमा यात्रा नगर्न आग्रह गरेको छ।
बोर्डले बुधबार जारी गरेको ‘भोटेकोशी फ्ल्यास फ्लड सिचुएसन अपडेट–१’ मा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन हुँदै भोटेकोशी तथा त्रिशूली नदी करिडोरमा रहेका पर्यटकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
बोर्डका अनुसार पर्यटकले नदी, नदी किनार, पुल तथा होचा क्षेत्रमा जानबाट बच्न, स्थानीय प्रशासन, सुरक्षा निकाय र पर्यटक प्रहरीको निर्देशन पालना गर्न तथा अवस्था स्पष्ट नभएसम्म सुरक्षित स्थानमा बस्नुपर्नेछ। बाढी आएको सडक, खोला वा नदी पार गर्ने प्रयास नगर्नसमेत बोर्डले आग्रह गरेको छ।
प्रभावित क्षेत्रमा भ्रमणको तयारीमा रहेका पर्यटकलाई यात्रा स्थगित गर्न र होटल, ट्रेकिङ एजेन्सी, गाइड तथा स्थानीय पर्यटन व्यवसायीसँग नियमित सम्पर्कमा रहन सुझाव दिइएको छ। यात्रामा निस्कनुअघि सडकको अवस्था बुझ्नसमेत बोर्डले आग्रह गरेको छ।
बाढीको जोखिमलाई ध्यानमा राख्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले रसुवा, नुवाकोट, धादिङ र चितवनतर्फ जाने सवारीसाधन रोकेको बोर्डले जनाएको छ। प्रभावित क्षेत्रमा उद्धार तथा आपत्कालीन कार्यका लागि नेपाली सेनाका दुई हेलिकोप्टरसमेत परिचालन गरिएको छ।
बोर्डले पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक र मुग्लिन–नारायणगढ सडकलाई प्रभावित राजमार्गका रूपमा उल्लेख गर्दै यात्रुले थप सूचना नआएसम्म विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
आपत्कालीन सहयोगका लागि टोल फ्री १२३४, हटलाइन ११४४ तथा पर्यटक प्रहरी ९८५१२८९४४५ मा सम्पर्क गर्न सकिने बोर्डले जनाएको छ। बोर्डले अपुष्ट सामाजिक सञ्जालका सूचनाभन्दा सरकारी निकाय, स्थानीय प्रशासन र जिम्मेवार पर्यटन व्यवसायीबाट प्राप्त आधिकारिक सूचनालाई आधार बनाउनसमेत आग्रह गरेको छ।
No advertisements available
प्रतिक्रिया 0