पर्यटक बढे, होटल भरिएनन् !

Wednesday, 03 June 2026, 07:23 PM
26 पटक हेरियो
Font Size: 20px

काठमाडौं । नेपालमा विदेशी पर्यटक आगमनले पछिल्ला वर्षहरूमा उल्लेखनीय सुधार देखाएको छ। पर्यटन क्षेत्र कोभिड–१९ पछिको सुस्तताबाट क्रमशः उकासिँदै गएको छ र पर्यटक आगमन ऐतिहासिक स्तर नजिक पुगेको छ। तर, पर्यटक आगमन बढ्दासमेत होटलहरूको अकुपेन्सी (कोठा भरिने दर) अपेक्षाअनुसार बढ्न नसक्दा होटल व्यवसायीहरू चिन्तित बनेका छन्।

नेपाल पर्यटन बोर्डका अनुसार मे २०२६ मा १ लाख २ हजार ६ सय २६ जना अन्तर्राष्ट्रिय पर्यटक नेपाल आएका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा १९.०३ प्रतिशत र कोभिडअघि सन् २०१९ को तुलनामा ३१.०२ प्रतिशत बढी हो।

पर्यटक आगमन ऐतिहासिक रूपमा बढेपछि होटलहरूको अकुपेन्सी पनि उल्लेख्य रूपमा बढ्ने अपेक्षा गरिएको थियो। तर, होटल एसोसिएसन नेपाल (हान) का अनुसार स्तरीय होटलहरूको औसत अकुपेन्सी अझै ३० प्रतिशतभन्दा माथि पुग्न सकेको छैन।

उनका अनुसार काठमाडौं उपत्यका र आसपास क्षेत्रमा दैनिक करिब १० हजार टुरिस्ट स्ट्यान्डर्ड कोठा उपलब्ध भए पनि दिनमा केवल २ हजारदेखि २५ सय कोठा मात्र बिक्री हुने गरेका छन्। परिणामस्वरूप करिब ७५ प्रतिशत कोठा खाली रहने अवस्था छ।

व्यवसायीहरूका अनुसार यसको मुख्य कारण होटल कोठाको अत्यधिक आपूर्ति र पर्यटकको बसाइ अवधि तथा खर्च गर्ने प्रवृत्ति अपेक्षाअनुसार नबढ्नु हो। यसले पर्यटक संख्या बढ्दै जाँदा पनि होटल उद्योगको व्यवसायिक अवस्था अपेक्षित रूपमा सुधार हुन नसकेको देखाएको छ।

4 घण्टा अगाडि
26 पटक हेरियो

प्रतिक्रिया 0