रसुवागढी । केरुङ नाका बाढीका कारण पूर्ण रूपमा बन्द भएपछि तिब्बतबाट नेपाल भित्रिने मालवस्तु बोकेका कन्टेनरहरू मुस्ताङको कोरला नाकातर्फ डाइभर्ट हुन थालेका छन्। बुधवार आएको भीषण बाढीले रसुवागढी र केरुङ क्षेत्रमा ठूलो क्षति पुर्याएपछि उक्त नाका हुँदै हुने आयात प्रभावित भएको हो। राष्ट्रिय समाचार समिति का अनुसार आइतबार साँझसम्म मुस्ताङको जोमसोमस्थित सशस्त्र प्रहरीको चेकपोस्टमा मात्रै ६६ वटा मालवाहक कन्टेनरको विवरण सङ्कलन गरिएको छ।
रसुवागढी नाका पूर्ण रूपमा बन्द भएपछि कोरला नाकाबाट मालवस्तु पैठारी गर्ने कन्टेनरको संख्या बढ्दै गएको सशस्त्र प्रहरीको जोमसोम चेकपोस्टले जनाएको छ। यससँगै चीनबाट नेपाल आउने व्यापारिक मालवस्तुका लागि कोरला नाका तत्कालका लागि महत्वपूर्ण वैकल्पिक मार्ग बन्न थालेको छ। रसुवागढीमा भएको क्षतिका कारण आयातकर्ताले वैकल्पिक मार्ग खोज्न थालेपछि कोरलामा व्यापारिक गतिविधि थप बढ्ने देखिएको छ।
सरकारले कोरला नाकालाई वैकल्पिक व्यापारिक नाकाका रूपमा सञ्चालनमा ल्याएपछि यहाँबाट हुने कारोबार पनि विस्तार हुँदै गएको छ। कोरला भन्सार कार्यालयले गत आर्थिक वर्षमा ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो। रसुवागढी नाका लामो समय बन्द रहने अवस्था आएमा कोरला नाकाबाट हुने आयात तथा राजस्वमा थप वृद्धि हुनसक्ने देखिएको छ। यद्यपि बढ्दो कन्टेनर आवागमन व्यवस्थापन गर्न भन्सार, सडक, पार्किङ, सुरक्षा र अन्य पूर्वाधारको क्षमता विस्तार गर्नुपर्ने चुनौती पनि देखिएको छ।
No advertisements available
प्रतिक्रिया 0