काठमाडौं । राष्ट्रिय कर दिवस २०८३ का अवसरमा सरकारले विभिन्न १९ विधाका उत्कृष्ट करदातालाई सम्मान गरेको छ। सरकारले कर प्रणालीमा योगदान पुर्याउँदै आएका व्यक्ति तथा संस्थालाई सम्मान गर्दै उत्कृष्ट करदाताको नाम सार्वजनिक गरेको हो।
सम्मानित हुनेमध्ये व्यक्तिगत आयकरतर्फ राजबहादुर शाह लगातार दोस्रो वर्ष सर्वाधिक करदाता बनेका छन्। त्यस्तै, बैंक, वित्तीय संस्था तथा बीमा क्षेत्रतर्फ नबिल बैंक लिमिटेड सर्वाधिक आयकर दाखिला गर्ने संस्थाका रूपमा सम्मानित भएको छ।
विभिन्न क्षेत्रतर्फ पर्यटन व्यवसायमा सोल्टी होटल, ऊर्जा उद्योगमा भोटेकोशी पावर कम्पनी, रेमिटेन्स तथा मनी ट्रान्सफरतर्फ आइएमई लिमिटेड र जीवन बीमातर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) सम्मानित भएका छन्।
यसैगरी, निर्जीवन बीमातर्फ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, लघुवित्ततर्फ छिमेक लघुवित्त वित्तीय संस्था, स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल र वस्तु व्यापारतर्फ सीजी इम्पेक्स उत्कृष्ट करदाता घोषित भएका छन्।
कृषि तथा पशुपन्छीजन्य उद्योगतर्फ ओसीबी फुड्स, ऊर्जा क्षेत्रतर्फ भोटेकोशी पावर कम्पनी र विशेष उद्योगतर्फ वरुण बेभरेज नेपालले सम्मान प्राप्त गरेका छन्। त्यस्तै, विभिन्न कारोबार समूह तथा मूल्य अभिवृद्धि कर नियमिततातर्फका उत्कृष्ट संस्थालाई समेत सम्मान गरिएको छ।
मंसिर १ गते आयोजित विशेष समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्मानित करदातालाई सम्मानपत्र प्रदान गरेका हुन्।
सरकारले प्रत्येक वर्ष राष्ट्रिय कर दिवसका अवसरमा कर प्रणालीमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको छ। करदातालाई प्रोत्साहन गर्नु, कर सहभागिता बढाउनु र राजस्व प्रशासनप्रति सकारात्मक धारणा विकास गर्नु यसको उद्देश्य रहेको छ।
No advertisements available
प्रतिक्रिया 0