काठमाडौं। नेपाल सरकार र Asian Development Bank (एडीबी) बीच १६५ मिलियन अमेरिकी डलर (करिब २५ अर्ब रुपैयाँ) बराबरका दुई सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौता अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एडीबीका अध्यक्ष मासातो कान्डाको उपस्थितिमा भएको हो। नेपालका तर्फबाट अर्थसचिव डा. घनश्याम उपाध्याय र एडीबीका नेपालका कन्ट्री डाइरेक्टर अर्नो कौसोइसले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार ११५ मिलियन अमेरिकी डलर एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन (क्षेत्रीय) परियोजनामा परिचालन गरिनेछ। यसबाट द्रुत शहरीकरण भइरहेका नगरपालिकामा जलवायु उत्थानशील खानेपानी, ढल तथा सरसफाइ पूर्वाधार विकास गरिनेछ। परियोजनाबाट हजारौं घरधुरी लाभान्वित हुने अपेक्षा गरिएको छ।
त्यसैगरी ५० मिलियन अमेरिकी डलर दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (SASEC) अन्तर्गत भन्सार आधुनिकीकरण, लजिस्टिक्स सुधार र व्यापार सहजीकरण कार्यक्रमका लागि बजेटरी सहयोगका रूपमा उपलब्ध गराइनेछ। यसले भन्सार प्रक्रियाको डिजिटलीकरण, व्यापार लागत घटाउने, आपूर्ति शृंखला सुदृढ गर्ने तथा रोजगारी सिर्जनामा सहयोग पुर्याउने लक्ष्य राखेको छ।
सम्झौता समारोहमा अर्थमन्त्री डा. वाग्लेले नेपालको विकासमा एडीबीले निरन्तर पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गरे। एडीबी अध्यक्ष कान्डाले पनि नेपालसँगको करिब छ दशक लामो साझेदारीलाई अझ प्रभावकारी बनाउँदै नेपालको विकास प्राथमिकतामा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।
प्रतिक्रिया 0