बाढी प्रभावित क्षेत्रमा ड्रोन उडाउँदा हवाई सुरक्षामा जोखिम

अनधिकृत ड्रोन उडाए कारबाही हुने गृह मन्त्रालयको चेतावनी

शनिबार, १३ भदौ २०८३, राति १०:२४

काठमाडौं । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोटलगायत बाढी प्रभावित क्षेत्रमा सम्बन्धित निकायको पूर्वस्वीकृति नलिई ड्रोन तथा मानवरहित हवाई उपकरण नउडाउन चेतावनी दिएको छ।

प्राधिकरणले भदौ १३ गते जारी गरेको सूचनामा गत भदौ १० गते रसुवागढी नाका भई नेपाल प्रवेश गर्ने भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोटलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको जनाएको छ। घटनापछि प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि नेपाल सरकार, गृह मन्त्रालय, प्राधिकरण, नेपाली सेना तथा निजी क्षेत्रको समन्वयमा हेलिकप्टरहरू पूर्ण क्षमताका साथ परिचालन भइरहेको जनाइएको छ।

उद्धार कार्य भइरहेका बेला केही व्यक्ति तथा संस्थाले स्थानीय प्रशासनको पूर्वस्वीकृति नलिई अनधिकृत रूपमा ड्रोन उडाइरहेको पाइएको प्राधिकरणले जनाएको छ। यसबाट उद्धारका लागि परिचालित हेलिकप्टरको उडान तथा खोजी–उद्धार कार्यमा प्रत्यक्ष बाधा पुग्नुका साथै हवाई सुरक्षामा गम्भीर जोखिम उत्पन्न हुन सक्ने प्राधिकरणको भनाइ छ।

प्राधिकरणले मानवरहित हवाई उपकरण अर्थात् आरपीए/ड्रोन उडानसम्बन्धी कार्यविधि, २०७५ बमोजिम सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा गृह मन्त्रालयको पूर्वस्वीकृति लिएर मात्र ड्रोन उडाउन तथा गराउन सबैलाई आग्रह गरेको छ।

अनुमति नलिई ड्रोन उडाएको अवस्थामा वा त्यसबाट उद्धार कार्यमा बाधा पुगेमा कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत प्राधिकरणले दिएको छ। विपद्को समयमा उद्धार तथा राहत कार्यलाई सुरक्षित र प्रभावकारी बनाउन सम्बन्धित सबै निकाय तथा सर्वसाधारणले निर्धारित नियम पालना गर्न प्राधिकरणले आग्रह गरेको छ।


प्रतिक्रिया 0