काठमाडौं । इरान युद्धका कारण उकालो लागेको अन्तर्राष्ट्रिय कच्चा तेल (ब्रेन्ट क्रुड)को मूल्य पुनः युद्धअघिकै स्तरमा झरेपछि नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य घट्ने अपेक्षा बढेको छ। मध्यपूर्वबाट तेल आपूर्तिको अवस्था सामान्य बन्दै गएको, हर्मुज जलडमरूमध्य हुँदै तेल ढुवानी सहज हुन थालेको तथा युद्धको तनाव कम भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा घटेको हो।
युद्धविरामको वातावरण, हर्मुज जलडमरू (Strait of Hormuz) हुँदै तेल ढुवानी पुनः सहज बन्दै गएको तथा आपूर्ति अवरोधको जोखिम घटेसँगै तेलको मूल्य उल्लेख्य रूपमा घटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
युद्धका क्रममा आपूर्ति अवरुद्ध हुने त्रासले कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको थियो। तर पछिल्ला दिनमा बजारको विश्वास फर्किएसँगै ब्रेन्ट क्रुडको मूल्य युद्ध सुरु हुनुअघिको करिब ७२–७३ अमेरिकी डलर प्रतिव्यारेलको दायरामा झरेको छ।
फेब्रुअरी २८ मा इरान–इजरायल युद्ध सुरु भएलगत्तै भारतीय आयल निगम (आईओसी)ले मार्च १ मा पठाएको नयाँ मूल्यसूचीका आधारमा नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १५७ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ कायम गरिएको थियो। त्यसयता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढ्दै गएपछि नेपालमा पेट्रोलियम पदार्थको मूल्य पनि पटक–पटक समायोजन हुँदै उल्लेख्य रूपमा वृद्धि भएको थियो।
हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर २१४.५० रुपैयाँ पुगेको छ भने डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर २२५ रुपैयाँ कायम छ। त्यसैगरी युद्ध सुरु हुनुअघि प्रति सिलिन्डर १,९०० रुपैयाँ रहेको खाना पकाउने एलपी ग्यासको मूल्य बढेर २,१६० रुपैयाँ पुगेको छ।
नेपालमा प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा भारतीय आयल निगम (आईओसी)ले पठाउने नयाँ मूल्यसूचीका आधारमा स्वचालित मूल्य निर्धारण प्रणाली (Automatic Pricing Mechanism) अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिन्छ। तर इरान युद्ध सुरु भएपछि अन्तर्राष्ट्रिय बजारमा आएको तीव्र उतारचढावका कारण यो प्रक्रिया अपेक्षाअनुसार प्रभावकारी हुन सकेको थिएन।
अब अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य युद्धअघिकै स्तरमा फर्किएकाले आगामी आईओसी मूल्यसूचीमा नेपालले पनि केही राहत पाउने अपेक्षा गरिएको छ। यद्यपि अन्तिम मूल्य समायोजन भने आईओसीले पठाउने खरिद मूल्य, ढुवानी लागत, विनिमय दर तथा नेपाल आयल निगम को मूल्य निर्धारण निर्णयमा निर्भर रहनेछ।
नेपाल पूर्ण रूपमा भारतमार्फत पेट्रोलियम पदार्थ आयात गर्ने मुलुक भएकाले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्दा त्यसको प्रत्यक्ष प्रभाव आईओसीको आपूर्ति मूल्यमा पर्छ। यदि कच्चा तेलको मूल्य केही समय यही स्तरमा कायम रह्यो भने पेट्रोल, डिजेल र हवाई इन्धनको खरिद लागतमा कमी आउने तथा नेपाली उपभोक्ताले पनि आगामी मूल्य समायोजनमा राहत पाउन सक्ने विश्लेषण गरिएको छ।
प्रतिक्रिया 0