नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको 'Macroeconomic Report: Analysis and Outlook–July 2026' ले नेपालको अर्थतन्त्र विस्तारै सुधारको बाटोमा रहेको देखाएको छ। प्रतिवेदनअनुसार आर्थिक गतिविधि बढ्दै गएको, निजी लगानी र उपभोगमा सुधार देखिएको तथा २०२६/२७ मा अर्थतन्त्र थप सकारात्मक हुने अपेक्षा गरिएको छ।
प्रतिवेदनले चालु आर्थिक वर्ष २०२५/२६ मा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान गरेको छ। सेवा क्षेत्र आर्थिक वृद्धिको मुख्य आधार बनेको छ भने निजी लगानीमा उल्लेख्य सुधार देखिएको छ। यद्यपि कृषि उत्पादन मौसमको प्रतिकूल प्रभावका कारण कमजोर बनेको उल्लेख गरिएको छ।
मुद्रास्फीति भने नोभेम्बर २०२५ पछि पुनः बढ्दै मे २०२६ मा ५.०४ प्रतिशत पुगेको छ। अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य वृद्धि, पेट्रोलियम पदार्थको मूल्य समायोजन तथा खाद्य वस्तुको मूल्यवृद्धि यसको प्रमुख कारण रहेको प्रतिवेदनमा उल्लेख छ।
बैंकिङ क्षेत्रमा तरलता प्रशस्त रहेकाले ब्याजदर ऐतिहासिक रूपमा न्यून तहमा पुगे पनि कर्जा विस्तार अपेक्षाअनुसार हुन नसकेको राष्ट्र बैंकको निष्कर्ष छ। रेमिट्यान्सको निरन्तर वृद्धि, न्यून कर्जा माग तथा कमजोर लगानी वातावरणका कारण बैंकमा तरलता थुप्रिएको उल्लेख गरिएको छ।
प्रतिवेदनले बैंकिङ क्षेत्र समग्रमा स्थिर रहे पनि बढ्दो निष्क्रिय कर्जा (NPL), घट्दो सम्पत्ति गुणस्तर, पूँजीमा परेको दबाब तथा नाफामा आएको कमीलाई प्रमुख चुनौतीका रूपमा औंल्याएको छ। रियल इस्टेटमा अत्यधिक धितो आधारित कर्जाले पनि वित्तीय स्थायित्वमा जोखिम बढाएको उल्लेख गरिएको छ।
बाह्य क्षेत्र भने निकै मजबुत देखिएको छ। चालु खाता र भुक्तानी सन्तुलन दुवै अधिशेषमा रहेका छन् भने विदेशी मुद्रा सञ्चिति ३७०४.५ अर्ब रुपैयाँ (२४.१९ अर्ब अमेरिकी डलर) पुगेको छ, जसले करिब १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्था सिर्जना गरेको प्रतिवेदनमा उल्लेख छ। रेमिट्यान्समा ४१.२ प्रतिशतको वृद्धिले यसलाई थप बलियो बनाएको छ।
राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा आर्थिक गतिविधि थप विस्तार हुने, मुद्रास्फीति औसत ५.५ प्रतिशत वरिपरि रहने तथा सावधानीपूर्ण तर सहयोगी (cautiously accommodative) मौद्रिक नीतिलाई निरन्तरता दिने संकेत गरेको छ।
प्रतिक्रिया 0