काठमाडौं । विश्व बजारमा खाद्य पदार्थको मूल्य अगस्टमा बढेर सन् २०२२ को अन्त्ययताकै उच्च स्तरमा पुगेको छ। प्रतिकूल मौसम, रुस–युक्रेन युद्धका कारण कालो सागर क्षेत्रमा देखिएको आपूर्ति अवरोध तथा इरान युद्धसँग जोडिएको व्यापारिक अवरोधले प्रमुख खाद्य वस्तुको आपूर्तिबारे चिन्ता बढाएपछि विश्व खाद्य मूल्यमा दबाब परेको संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन ले जनाएको छ।
एफएओको खाद्य मूल्य सूचकांक अगस्टमा १३३.३ अंक पुगेको छ। जुलाईको संशोधित १३०.८ अंकको तुलनामा यो करिब १.९ प्रतिशतले बढी हो। अगस्टको सूचकांक सन् २०२२ को नोभेम्बरयताकै उच्च हो। यद्यपि, सन् २०२२ को मार्चमा रुसले युक्रेनमाथि पूर्ण सैन्य आक्रमण गरेपछि पुगेको ऐतिहासिक उच्च विन्दुको तुलनामा अहिलेको मूल्य करिब १७ प्रतिशत कम छ।
एफएओका अनुसार युरोपमा अत्यधिक गर्मी र खडेरी, एसियामा सम्भावित शक्तिशाली एल निनो मौसम प्रणालीको जोखिम तथा रुस–युक्रेन र इरानसँग सम्बन्धित युद्ध तथा व्यापारिक अवरोधले कृषि बजारमा अनिश्चितता बढाएको छ। यी कारणले विशेषगरी अन्नबालीको आपूर्ति र उत्पादनबारे चिन्ता बढाउँदै अन्तर्राष्ट्रिय बजारमा मूल्य बढाउन योगदान गरेका छन्।
खाद्य वस्तुको समूहगत मूल्य हेर्दा अन्नको मूल्य सूचकांक अगस्टमा २.२ प्रतिशतले बढेर सन् २०२४ को मेयताकै उच्च पुगेको छ। कालो सागर क्षेत्रमा रुस र युक्रेनका अन्न निर्यातमा देखिएको अवरोधले अन्तर्राष्ट्रिय बजारमा आपूर्ति जोखिम बढाएको हो। रुस र युक्रेन विश्वका महत्वपूर्ण अन्न निर्यातकर्ता भएकाले त्यहाँको युद्ध तथा बन्दरगाह र जहाजमा हुने आक्रमणले विश्व खाद्य आपूर्ति शृंखलामा प्रत्यक्ष असर पारिरहेको रोयटर्सले जनाएको छ।
यसको प्रभाव एसियाली बजारमा समेत देखिन थालेको छ। कालो सागर क्षेत्रबाट आउने गहुँको आपूर्तिमा अनिश्चितता बढेपछि केही एसियाली आयातकर्ताले अस्ट्रेलिया र अर्जेन्टिनाबाट गहुँ खरिद गर्न थालेका छन्। वैकल्पिक आपूर्तिकर्ताबाट खरिद गर्दा मूल्यसमेत बढेको छ। यसले आयातमा निर्भर एसियाली मुलुकका लागि खाद्य लागत र मुद्रास्फीतिको जोखिम थप बढाउन सक्ने देखिएको छ ।
चिनीको मूल्यमा भने अझ ठूलो उछाल आएको छ। एफएओको चिनी मूल्य सूचकांक अगस्टमा अघिल्लो महिनाको तुलनामा ११.९ प्रतिशतले बढेको छ। यो सन् २०२५ को जुनयताकै उच्च स्तर हो। ब्राजिलको महत्वपूर्ण उखु उत्पादन क्षेत्रमा उत्पादन घट्ने चिन्ता तथा युरोप र एसियामा प्रतिकूल मौसमले चिनीको आपूर्तिबारे आशंका बढाएको एफएओले जनाएको छ।
त्यस्तै, वनस्पति तेलको मूल्य ०.६ प्रतिशतले बढेर सन् २०२२ को जुनयताकै उच्च पुगेको छ। मासु र दुग्धजन्य वस्तुको मूल्य पनि अगस्टमा बढेको छ। एफएओका सबै प्रमुख खाद्य समूह—अन्न, वनस्पति तेल, चिनी, मासु र दुग्धजन्य पदार्थ—को मूल्यमा वृद्धि भएको जनाइएको छ।
एफएओका प्रमुख अर्थशास्त्री म्याक्सिमो टोरेरोले अगस्टको मूल्यवृद्धिले विश्व खाद्य बजारमा ‘जोखिम प्रिमियम’ पुनः फर्किएको संकेत गरेको बताएका छन्। उनका अनुसार जलवायुजन्य धक्का, भू–राजनीतिक तनाव र व्यापारिक तथा ढुवानी अवरोध एकैपटक देखिँदा खाद्य आपूर्ति थप कसिलो हुने अपेक्षा बढेको छ।
एफएओले विश्वव्यापी अन्न उत्पादनको अनुमानसमेत घटाएको छ। सन् २०२६ को विश्व अन्न उत्पादनको अनुमान अघिल्लो जुलाईको प्रक्षेपणभन्दा ३४ लाख मेट्रिक टन घटाएर २ अर्ब ९८ करोड टनमा झारिएको छ। यो सन् २०२५ को तुलनामा करिब २ प्रतिशत कम हो र सन् २०१८ यताकै सबैभन्दा ठूलो वार्षिक गिरावट हुने अनुमान गरिएको छ। यद्यपि, अनुमानित उत्पादन अझै पनि इतिहासकै दोस्रो ठूलो उत्पादन हुने एफएओले जनाएको छ।
यसैगरी, सन् २०२६/२७ को अन्त्यमा विश्वमा रहने अन्न मौज्दातको अनुमान पनि १.१ प्रतिशतले घटाएर ९४ करोड ७२ लाख टनमा झारिएको छ। मोटा अन्नको मौज्दात घट्ने अनुमानले समग्र मौज्दातमा दबाब पारेको भए पनि रुस र युक्रेनबाट हुने ढुवानी अवरोधका कारण त्यहाँ गहुँको मौज्दात बढ्न सक्ने अनुमान गरिएको छ।
विश्व खाद्य बजारमा देखिएको पछिल्लो मूल्यवृद्धिले जलवायु परिवर्तन, युद्ध र व्यापारिक अवरोधबीच खाद्य सुरक्षाको जोखिम पुनः बढिरहेको संकेत गरेको छ। विशेषगरी खाद्य पदार्थ आयातमा निर्भर मुलुकहरूले आपूर्ति स्रोत विविधीकरण, पर्याप्त मौज्दात व्यवस्थापन र अन्तर्राष्ट्रिय व्यापार अवरोधका सम्भावित असरलाई ध्यानमा राखेर खाद्य सुरक्षा रणनीति बनाउनुपर्ने अवस्था देखिएको अन्तर्राष्ट्रिय सन्चारमाध्यम हरुले जनाएका छन ।
No advertisements available
प्रतिक्रिया 0