काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले स्वदेशी उत्पादनको प्रवर्द्धन गर्दै डीडीसीको याक चिज सार्वजनिक रूपमा प्रचार गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत डीडीसीले उत्पादन गरेको याक चिज खाइरहेको तस्वीर सार्वजनिक गरेपछि उक्त उत्पादन फेरि चर्चामा आएको हो ।
दुग्ध विकास संस्थान (डीडीसी) ले मुख्य रूपमा उच्च हिमाली क्षेत्रमा पालिने चौँरी तथा याकको दूधबाट चिज उत्पादन गर्दै आएको छ । संस्थानका अनुसार हाल देशका ११ स्थानबाट याक चिज उत्पादन भइरहेको छ । उत्पादन केन्द्रहरूमा रसुवाको लाङटाङ, चन्दनबारी र गोसाइँकुण्ड, दोलखाको चोर्दुङ, रामेछापको थोदुङ र देउराली, सोलुखुम्बुको पिके, इलामको पशुपतिनगर र फिक्कल तथा पाँचथरको पौवा भञ्ज्याङ लगायत क्षेत्र रहेका छन् ।
डीडीसीका अनुसार वार्षिक रूपमा करिब ५५ देखि ६० मेट्रिक टनसम्म चिज उत्पादन हुँदै आएको छ । त्यसमध्ये करिब ३६ हजार केजी याक चिज उत्पादन हुने गरेको बताइएको छ । हाल याक चिज प्रतिकिलो करिब १ हजार ८८० रुपैयाँमा बिक्री भइरहेको जनाइएको छ ।
प्रधानमन्त्री शाहले पछिल्लो समय “स्वदेशी उत्पादन प्रयोग गरौं” भन्ने सन्देशसहित नेपाली उत्पादनलाई प्राथमिकता दिँदै आएका छन् । यसपटक डीडीसीको याक चिजलाई सामाजिक सञ्जालमार्फत प्रवर्द्धन गरेपछि स्थानीय उत्पादन, हिमाली डेरी उद्योग तथा चौँरीपालन व्यवसायबारे पनि चर्चा बढेको छ ।
प्रतिक्रिया 0