पहिचान नभएका २२९ शव देवघाटमा व्यवस्थापन गरिँदै

शनिबार, १३ भदौ २०८३, बिहान १०:४३

चितवन । रसुवामा आएको विनाशकारी भोटेकोशी बाढीले बगाएर चितवनसम्म ल्याएका पहिचान हुन नसकेका २२९ शव तथा शवका अवशेष व्यवस्थापन गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापनसम्बन्धी निर्देशिकाबमोजिम ती शवलाई व्यवस्थापन गर्ने निर्णय गरेको हो।

जिल्ला प्रशासनका अनुसार बाढीपछि चितवनका विभिन्न नदी तटीय क्षेत्रबाट हालसम्म २३३ शव संकलन गरिएका छन्। तीमध्ये चारवटाको मात्र पहिचान खुलेको छ भने बाँकी २२९ शव होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा राखिएका छन्। लामो समयदेखि राखिएका शव तथा अवशेष सडगलिसकेको र पहिचान गर्न कठिन अवस्थामा पुगेकाले स्वास्थ्य जोखिम तथा संक्रमण फैलिन सक्ने सम्भावनालाई समेत ध्यानमा राखेर व्यवस्थापन गर्न लागिएको हो।

चितवनको जिल्ला सुरक्षा समितिको निर्णयअनुसार भरतपुर महानगरपालिका–१, देवघाटस्थित खुला स्थानमा शव तथा अवशेषलाई जमिनमुनि व्यवस्थापन गरिनेछ। प्रशासनले बाध्यात्मक परिस्थितिका कारण यस्तो निर्णय गर्नुपरेको जनाएको छ। मृतकप्रति सम्मान कायम राख्दै कानुनी प्रक्रिया पूरा गरेर शव व्यवस्थापन गरिने प्रशासनको भनाइ छ।

शव व्यवस्थापन गर्नुअघि प्रत्येक शवबाट डीएनए नमुना संकलन गरी सुरक्षित राखिने र प्रत्येक शवलाई संकेत नम्बर प्रदान गरेर आवश्यक अभिलेख तयार गरिनेछ। यसबाट भविष्यमा आफन्तले डीएनए परीक्षण तथा अभिलेखका आधारमा शवको पहिचान गर्न सक्ने व्यवस्था मिलाइनेछ।

यसैबीच, जलदेवी सामुदायिक वनले बाढीबाट मृत्यु भएकाहरूको दाहसंस्कारका लागि आवश्यक दाउरा निःशुल्क उपलब्ध गराउने भएको छ। चितवनमा फेला परेका शवको दाहसंस्कार गर्न आवश्यक परेमा वनले निःशुल्क दाउरा उपलब्ध गराउने जनाएको छ। जिल्ला प्रशासनको अनुरोधअनुसार शव व्यवस्थापनका लागि देवघाट क्षेत्रमा जमिन उपलब्ध गराउनसमेत सहयोग गरिएको जनाइएको छ।

प्रतिक्रिया 0