काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार दिउँसो १ः४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत नयाँ दिल्ली प्रस्थान गरेका हुन्।
प्रधानमन्त्री शाहको भारत भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रलगायत सहभागी छन्। उच्च सरकारी अधिकारी, व्यवसायी तथा सरकारी सञ्चारमाध्यमका प्रतिनिधिसहित भ्रमण टोलीमा कुल ३५ सदस्य रहेका छन्।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। त्यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार मंसिर ७ गते प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ। भ्रमणको पहिलो दिन आइतबार भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले पनि प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री शाहको भारत भ्रमणमा विशेषगरी दुई देशबीचको आर्थिक तथा विकास साझेदारीलाई थप मजबुत बनाउने विषयले प्राथमिकता पाउनेछ। व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा दुवै देशका नेतृत्वबीच छलफल हुनेछ।
यसैगरी, दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यमार्फत सम्पन्न भएका विभिन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ। शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधन विकासलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान गर्ने तयारी छ।
भ्रमणको दोस्रो दिन प्रधानमन्त्री शाहले नयाँ दिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ। त्यसपछि भारतीय प्रधानमन्त्री मोदीसँग उच्चस्तरीय भेटवार्ता तथा प्रतिनिधिमण्डलस्तरीय छलफल हुनेछ।
प्रधानमन्त्री शाह भ्रमण सम्पन्न गरी सोमबार साँझ ६ः३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत स्वदेश फर्कने कार्यक्रम रहेको छ। भ्रमण टोली स्वदेश फर्किएपछि परराष्ट्रमन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी भ्रमणका उपलब्धिबारे जानकारी दिनेछन्।
No advertisements available
प्रतिक्रिया 0