काठमाडौं । श्रम तथा व्यावसायिक सुरक्षा विभागले श्रमिकका गुनासोको समयमै सुनुवाइ र प्रभावकारी व्यवस्थापन सुनिश्चित गर्न देशभरका श्रम तथा रोजगार कार्यालयहरूलाई गुनासो प्राप्त भएको एक घण्टाभित्र आवश्यक प्रतिक्रिया दिई प्रक्रिया सुरु गर्न निर्देशन दिएको छ। विभागले मंगलबार जारी गरेको परिपत्रमार्फत श्रमिकका उजुरीमा हुने ढिलाइ अन्त्य गर्दै सेवा प्रवाहलाई थप चुस्त, पारदर्शी र उत्तरदायी बनाउने उद्देश्यले यस्तो व्यवस्था लागू गरेको हो।
विभागका अनुसार 'हेलो सरकार' लगायत विभिन्न माध्यमबाट प्राप्त हुने श्रमिकका गुनासोमा ढिलाइ भएको जनगुनासो बढ्दै गएपछि सम्बन्धित कार्यालयले उजुरी प्राप्त हुनासाथ दर्ता गरी आवश्यक प्रक्रिया अघि बढाउनुपर्नेछ। श्रम ऐन तथा प्रचलित कानुनअनुसार विवाद समाधानका लागि सम्बन्धित रोजगारदाता (Employer) सँग तत्काल समन्वय गर्न, आवश्यक स्पष्टीकरण माग्न, मेलमिलाप तथा समाधान प्रक्रिया अघि बढाउन र आफ्नो अधिकारक्षेत्रभन्दा बाहिरका विषय सम्बन्धित निकायमा तत्काल पठाउन पनि निर्देशन दिइएको छ।
विभागले स्पष्ट पारेको छ, श्रम तथा रोजगार कार्यालयले उजुरी प्राप्त भएपछि ढिलाइ नगरी प्रक्रिया सुरु गर्नुपर्ने व्यवस्था गरिएको हो। त्यसपछि कार्यालयले सम्बन्धित रोजगारदाता र श्रमिक दुवै पक्षसँग समन्वय गर्दै श्रम कानुनबमोजिम विवाद समाधानको प्रक्रिया अगाडि बढाउनेछ।
साथै, समाधान भएका सबै गुनासोको विवरण सम्बन्धित प्रणालीमा अद्यावधिक गर्न तथा सेवा प्रवाहलाई सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ र निजामती सेवा ऐन, २०४९ को भावना अनुरूप सञ्चालन गर्न विभागले निर्देशन दिएको छ। विभागको विश्वास छ कि यस व्यवस्थाले श्रमिकका गुनासोको छिटो सम्बोधन, श्रम प्रशासनप्रतिको जनविश्वास अभिवृद्धि तथा श्रम सम्बन्धलाई थप व्यवस्थित बनाउन सहयोग पुग्नेछ।
प्रतिक्रिया 0