काठमाडौं । नेपाल सरकारले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सञ्चालन गरेको अनुगमन अभियानअन्तर्गत चैत १३ गतेदेखि हालसम्म ५०९ वटा सरकारी कार्यालयको निरीक्षण तथा अनुगमन गरेको छ। यस क्रममा विभिन्न प्रकारका अनुशासनहीन गतिविधिमा संलग्न ५ हजार ५१४ कर्मचारी कारबाहीमा परेका छन्।
प्राप्त विवरणअनुसार कारबाहीमा परेकामध्ये ५ हजार ९७ कर्मचारी कार्यालय समय पालना नगर्ने रहेको पाइएको छ। समयमै कार्यालयमा उपस्थित नहुने, कार्यस्थलमा अनुपस्थित रहने तथा सेवा प्रवाहमा ढिलाइ गर्ने कर्मचारीमाथि सम्बन्धित निकायमार्फत कारबाही प्रक्रिया अघि बढाइएको जनाइएको छ।
सरकारले कर्मचारी अनुशासन, सेवा प्रवाहको गुणस्तर तथा सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले नियमित रूपमा अनुगमन अभियान सञ्चालन गर्दै आएको छ। पछिल्लो अनुगमनले सरकारी कार्यालयहरूमा अझै पनि समयपालन र कार्य अनुशासनको चुनौती रहेको देखाएको छ।
सरकारले आगामी दिनमा पनि अनुगमनलाई थप प्रभावकारी बनाउँदै सेवाग्राहीले सहज, छिटो र गुणस्तरीय सेवा पाउने वातावरण निर्माणमा जोड दिने जनाएको छ।
प्रतिक्रिया 0