काठमाडौं। नेपाल राष्ट्र बैंक ले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासको घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति सम्बन्धी प्रतिवेदनले नेपालको रियल इस्टेट बजारमा सुधारको स्पष्ट संकेत देखाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घरजग्गा कारोबार संख्या, कारोबार रकम, लिखत पारित, राजस्व संकलन, पूँजीगत लाभकर तथा बैंक कर्जालगायत अधिकांश सूचकमा वृद्धि भएको प्रतिवेदनले देखाएको हो।
प्रतिवेदनअनुसार समीक्षा अवधिमा घरजग्गा कारोबार संख्या ६.४२ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने कारोबार संख्या ४.५२ प्रतिशतले घटेको थियो। यस्तै, लिखत पारितअन्तर्गतको कारोबार ९.६२ प्रतिशत र राजीनामामार्फत हुने कारोबार १२.१७ प्रतिशतले बढेको छ। कारोबार भएको कुल क्षेत्रफल पनि ११.६० प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।
मूल्यका हिसाबले पनि घरजग्गा बजारमा उल्लेख्य सुधार देखिएको छ। समीक्षा अवधिमा कुल घरजग्गा कारोबार (टर्नओभर) १८३.९० अर्ब रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा यो १००.०७ अर्ब रुपैयाँ मात्रै रहेको थियो। यसले घरजग्गा कारोबारमा नगद प्रवाह र लगानी गतिविधि बढ्दै गएको संकेत गरेको छ।
सरकारी राजस्वमा पनि घरजग्गा कारोबारको सकारात्मक प्रभाव देखिएको छ। प्रतिवेदनअनुसार घरजग्गा कारोबारबाट संकलन हुने राजस्व २३.७२ प्रतिशतले वृद्धि भएको छ भने पूँजीगत लाभकर (Capital Gains Tax) ३१.४२ प्रतिशतले बढेको छ। यसले कारोबारको मात्रा मात्र नभई मूल्यमा समेत सुधार आएको संकेत गरेको राष्ट्र बैंकको निष्कर्ष छ।
बैंकिङ क्षेत्रतर्फ पनि घरजग्गासम्बन्धी कर्जा विस्तार भएको देखिएको छ। समीक्षा अवधिमा आवासीय घरजग्गा कर्जासहित यस क्षेत्रमा प्रवाह भएको बैंक कर्जा ५.५५ प्रतिशतले बढेको छ। यसले बैंकहरूबाट घरजग्गा क्षेत्रमा लगानी विस्तार हुँदै गएको देखाएको छ।
प्रदेशगत अवस्था
प्रदेशगत विश्लेषणमा बागमती प्रदेश सबैभन्दा अगाडि देखिएको छ। बागमतीमा घरजग्गा कारोबार संख्या ३३.०१ प्रतिशतले बढेको छ भने मधेश प्रदेशमा ४.७९ प्रतिशतले घटेको छ। कारोबार क्षेत्रफलतर्फ गण्डकी प्रदेशमा सबैभन्दा बढी २४.८४ प्रतिशतले वृद्धि भएको छ भने मधेश प्रदेशमा भने गिरावट देखिएको छ। कारोबार रकम भने सातै प्रदेशमा बढेको राष्ट्र बैंकले जनाएको छ, जसमा बागमती प्रदेशमा सबैभन्दा ठूलो वृद्धि भएको उल्लेख छ।
महानगर र उपमहानगरको अवस्था
छ महानगरपालिकामध्ये काठमाडौं महानगरपालिकामा घरजग्गा कारोबार संख्या सबैभन्दा धेरै १०८.४२ प्रतिशतले बढेको छ। त्यसपछि पोखरा, ललितपुर, वीरगञ्ज, भरतपुर र विराटनगर महानगरपालिकामा पनि उल्लेख्य वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ। कारोबार क्षेत्रफल र कारोबार रकममा पनि काठमाडौं महानगरपालिका अग्रस्थानमा रहेको छ।
उपमहानगरपालिकातर्फ अधिकांश क्षेत्रमा कारोबार बढेको छ। तुलसीपुर उपमहानगरपालिकामा कारोबार क्षेत्रफल ४२.७४ प्रतिशत र कारोबार रकम १३४.४६ प्रतिशतले वृद्धि भएको छ, जुन सबैभन्दा उच्च हो। यद्यपि केही उपमहानगरपालिकामा कारोबार संख्या र क्षेत्रफलमा सामान्य गिरावट पनि देखिएको प्रतिवेदनले जनाएको छ।
राष्ट्र बैंकले यो प्रतिवेदन भूमि व्यवस्थापन तथा अभिलेख विभाग र बैंकिङ प्रणालीबाट प्राप्त घरजग्गासम्बन्धी तथ्यांकका आधारमा तयार पारेको जनाएको छ। प्रतिवेदनले पछिल्ला महिनाहरूमा घरजग्गा बजारमा क्रमशः सुधार देखिन थालेको संकेत गरेको छ।
प्रतिक्रिया 0