एसियाली राजनीतिक दलहरूको मञ्च आईक्यापमा विनोद चौधरी निर्वाचित

बिहीबार, १९ कार्तिक २०८३, राति १०:५२


काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विनोद चौधरी एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) को स्ट्यान्डिङ कमिटी सदस्यमा निर्वाचित भएका छन्। दक्षिण कोरियाको राजधानी सियोलमा आयोजित आईक्यापको १३औँ महासभाले चौधरीलाई उक्त जिम्मेवारीमा निर्वाचित गरेको हो।

नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै महासभामा सहभागी भएका चौधरीले नेपालको आर्थिक विकास, निजी क्षेत्रको सशक्तीकरण, वैदेशिक लगानी आकर्षण तथा स्वदेशी उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्नुपर्ने आवश्यकताबारे धारणा राखेका थिए।

सम्मेलनलाई सम्बोधन गर्दै उनले दक्षिण कोरियाको आर्थिक विकास मोडल नेपालका लागि अनुकरणीय रहेको बताए। विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने ब्रान्ड निर्माण, निजी क्षेत्रको सशक्तीकरण तथा सरकार र निजी क्षेत्रबीचको प्रभावकारी सहकार्यले दक्षिण कोरियाको अर्थतन्त्रमा उल्लेखनीय परिवर्तन ल्याएको उनको भनाइ थियो। नेपालले पनि उद्यमशीलता र निजी क्षेत्रको विकासका लागि अनुकूल वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए।

चौधरीले खुला बजार अर्थतन्त्र, आर्थिक उदारीकरण र विश्वव्यापीकरणलाई नेपालको विकासको आधार बनाउनुपर्ने धारणा राखे। साथै, पछिल्लो समय नेपाली युवाले उठाएका भ्रष्टाचार, जवाफदेहिता, सुशासन र अवसरसम्बन्धी प्रश्नलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने बताए। युवाका लागि स्वदेशमै रोजगारी, उद्यमशीलता र आधुनिक सीप विकासका अवसर सिर्जना गर्नुपर्ने उनको भनाइ थियो।

यसैगरी, एसियाली मुलुकहरूबीच सुशासन, युवा सहभागिता, उद्यमशीलता, प्रविधिको जिम्मेवार प्रयोग तथा जलवायु परिवर्तनका चुनौती सम्बोधन गर्न क्षेत्रीय सहकार्य आवश्यक रहेको उनले उल्लेख गरे। हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ्दै गएको जोखिमबारे चर्चा गर्दै उनले नेपालको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीलाई गम्भीर चेतावनीका रूपमा लिनुपर्ने बताए।

आईक्यापको स्ट्यान्डिङ कमिटीले संस्थाका गतिविधि सञ्चालन, नीति तथा कार्यक्रमको समन्वय र भावी कार्यदिशा तय गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। चौधरीको निर्वाचनले नेपालको आर्थिक रूपान्तरण, उद्यमशीलता, समावेशी विकास तथा क्षेत्रीय सहकार्यका मुद्दालाई एसियाली राजनीतिक मञ्चमा उठाउन थप अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया 0