नीतिगत सुधार र कर सहुलियतको तयारी
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको गेम डेभलपमेन्ट तथा सूचना प्रविधि (आईटी) उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन नीतिगत सुधार, कर सहुलियत र अनुकूल व्यावसायिक वातावरण निर्माण गर्ने बताएका छन्।
प्रधानमन्त्री शाहका अनुसार विश्वभर लोकप्रिय लुडो गेमले करिब २० करोड र कलब्रेक गेमले १५ करोडभन्दा बढी डाउनलोड हासिल गरेका छन्। यी लोकप्रिय गेम नेपालीले नै विकास गरेका हुन्। नेपालमै अन्तर्राष्ट्रिय बजारमा स्थापित हुन सक्ने गेमिङ कम्पनीहरू रहेको र सयौँ युवा गेम एप विकासमा सक्रिय रहेको उनले उल्लेख गरेका छन्।
गेम डेभलपर तथा यस क्षेत्रका उद्यमीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले उनीहरूका समस्या र चुनौतीबारे जानकारी लिएको बताएका छन्। गेम डेभलपमेन्ट क्षेत्रलाई सहज बनाउँदै यसलाई व्यवस्थित उद्योगका रूपमा विकास गर्न आवश्यक गृहकार्य अघि बढाइएको उनको भनाइ छ।
नेपालबाटै विश्वस्तरका 'युनिकर्न' कम्पनी स्थापना गर्न सहज हुने गरी विद्यमान नियम, नीतिगत व्यवस्था र व्यावसायिक वातावरणको पुनरावलोकन गरिने पनि उनले बताएका छन्। विशेषगरी सूचना प्रविधि उत्पादन तथा निर्यातको सम्भावनालाई ध्यानमा राख्दै कर प्रणाली सहज बनाउने, नीतिगत सुधार गर्ने र अन्तर्राष्ट्रिय आम्दानीसम्बन्धी विद्यमान कडा व्यवस्थालाई थप व्यावहारिक बनाउने सरकारको तयारी छ।
यसका अतिरिक्त गेमिङ तथा आईटी क्षेत्रको विकासका लागि गेम जाम, स्टार्टअप कार्यक्रम, ह्याकाथन र विभिन्न इकोसिस्टमसम्बन्धी कार्यक्रमहरूमा लगानी गर्ने योजना रहेको प्रधानमन्त्रीले बताएका छन्। आईटी क्षेत्रका कम्पनी तथा उद्यमीहरू र नेपाल राष्ट्र बैंक तथा अर्थ मन्त्रालयबीच नियमित अन्तरक्रियाको व्यवस्था गरी नीतिगत समस्या समाधानमा सहजीकरण गरिने उनको भनाइ छ।
सरकारको यो पहलले नेपाली गेमिङ तथा आईटी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्न, युवा उद्यमशीलतालाई प्रोत्साहन गर्न र नेपालमै विश्वस्तरीय प्रविधि कम्पनी विकास गर्ने वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
No advertisements available
प्रतिक्रिया 0