काठमाडौ । राष्ट्रिय सुरक्षा परिषद्को बैठकले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाउन सबै सुरक्षा निकाय तथा सरोकारवालाबीचको समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा सिंहदरबारस्थित परिषद्को सचिवालयमा बसेको बैठकले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै यस्तो निर्णय गरेको हो।
बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्थासँगै साउन १० गते सुनसरीमा भएको घटनाबारे विस्तृत छलफल भएको थियो। राजनीतिक दल, स्थानीय सरोकारवाला र सुरक्षा निकायको संयुक्त प्रयासबाट सुनसरीको अवस्था क्रमशः सामान्य बन्दै गएको जानकारी दिइएको बैठकले भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा निकाय र सम्बन्धित पक्षबीच निरन्तर संवाद, समन्वय र सहकार्यलाई थप मजबुत बनाउने निर्णय गरेको छ।
त्यसैगरी, बैठकले प्राकृतिक विपद्का समयमा खोज, उद्धार तथा राहत कार्यलाई अझ प्रभावकारी र समयमै सञ्चालन गर्न सम्बन्धित निकायबीचको समन्वय सुदृढ गर्ने निर्णय पनि गरेको छ। बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुधन गुरुङ, परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, मुख्य सचिव गोविन्द कार्की तथा प्रधानसेनापति अशोकराज सिग्देललगायतको सहभागिता रहेको थियो।
प्रतिक्रिया 0