ठूलो रकम चाहिने भएपछि दाता सम्मेलनको तयारी
काठमाडौं । भोटेकोशी बाढीबाट भएको ठूलो क्षतिपछि सरकारले पुनर्स्थापना तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउने तयारी गरेको छ। परराष्ट्रमन्त्री शिशिर खनालले विपद्बाट पूर्वाधार, सडक सञ्जाल, पुल तथा जलविद्युत् आयोजनामा व्यापक क्षति पुगेकाले क्षतिको विस्तृत मूल्याङ्कन भइरहेको बताएका छन्।
परराष्ट्र मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा मन्त्री खनालले क्षतिको मूल्याङ्कन पूरा भएपछि पुनर्निर्माणका लागि आवश्यक योजना र सहयोगको खाका तयार गरिने बताए। पुनर्निर्माणका लागि ठूलो स्रोत आवश्यक पर्ने देखिएकाले आवश्यकता अनुसार दाता सम्मेलनसमेत आयोजना गर्न सकिने उनले संकेत गरे।
बाढीपछि उद्धार तथा राहतका लागि विभिन्न मुलुकबाट सहयोग प्राप्त भइरहेको सरकारले जनाएको छ। भारतबाट मात्रै हालसम्म ५७ टनभन्दा बढी राहत सामग्री प्राप्त भएको छ भने चीन, जापान र अष्ट्रेलियालगायतका मुलुकबाट पनि अत्यावश्यक सामग्री आइरहेको मन्त्री खनालले बताए। विदेशी समकक्षीसँग राहत तथा विपद् व्यवस्थापनबारे प्रत्यक्ष संवाद भइरहेको उनको भनाइ छ।
यसअघि अर्थमन्त्री स्वर्णिम वाग्लेले बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा प्रारम्भिक रूपमा ४ देखि ५ अर्ब अमेरिकी डलर आवश्यक पर्न सक्ने बताएका छन्। यो नेपालको कुल अर्थतन्त्रको करिब १० प्रतिशत बराबर हो। त्यसैले पुनर्निर्माणका लागि स्वदेशी स्रोतसँगै अन्तर्राष्ट्रिय सहयोग जुटाउनु सरकारका लागि महत्वपूर्ण चुनौती बनेको छ।
No advertisements available
प्रतिक्रिया 0