रसुवा बाढीपीडितका लागि अमेरिकाको थप ३६ लाख डलर सहयोग घोषणा

आइतबार, १४ भदौ २०८३, बिहान १०:३८

काठमाडौं । नेपालमा बाढीबाट प्रभावित नागरिकको राहत तथा जीवनरक्षाका लागि संयुक्त राज्य अमेरिकाले ३६ लाख अमेरिकी डलरभन्दा बढीको अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत नेपाली जनताले कठिन परिस्थितिको सामना गरिरहेका बेला अमेरिकाले थप सहयोग उपलब्ध गराउन लागेको जनाएको हो।

अमेरिकी विदेश मन्त्रालयका अनुसार नयाँ सहायता बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक मानवीय सहयोग पुर्‍याउन केन्द्रित हुनेछ। यसअन्तर्गत करिब १० हजार बाढीपीडितलाई तीन महिनासम्म आवश्यक खाद्य सामग्री उपलब्ध गराइनेछ। बाढीका कारण प्रभावित परिवारको तत्कालीन खाद्य आवश्यकतालाई सम्बोधन गर्न यो सहयोग महत्वपूर्ण हुने अमेरिकी पक्षले जनाएको छ।

नेपालमा पछिल्लो बाढीबाट ठूलो जनधनको क्षति भएपछि अन्तर्राष्ट्रिय समुदायबाट राहत तथा मानवीय सहयोग घोषणा भइरहेको छ। अमेरिकाले उपलब्ध गराउने थप सहयोगले बाढी प्रभावित समुदायमा खाद्य सुरक्षा तथा तत्कालीन राहत व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। अमेरिकी सरकार तथा सम्बन्धित मानवीय साझेदारले प्रभावित क्षेत्रमा आवश्यकताअनुसार सहायता परिचालन गर्ने जनाएको छ।

प्रतिक्रिया 0