फ्रान्सेली फुटबल स्टार Kylian Mbappé ले अमेरिकी स्पोर्ट्सवेयर कम्पनी नाइकीसँगको करिब दुई दशक लामो साझेदारी अन्त्य गर्दै स्विस स्पोर्ट्सवेयर ब्रान्ड ‘अन’सँग नयाँ साझेदारी गरेका छन्। ‘अन’ले फुटबल बजारमा प्रवेश गर्ने घोषणा गर्दै एम्बाप्पेलाई उत्पादन विकासका साझेदार तथा विश्वव्यापी ब्रान्ड एम्बेसडरका रूपमा अघि सारेको हो। एम्बाप्पेले सन् २००६ देखि नाइकीसँग सहकार्य गर्दै आएका थिए।
नयाँ साझेदारीअन्तर्गत एम्बाप्पेले ‘अन’को उत्पादन टोलीसँग प्रत्यक्ष काम गर्दै भविष्यका फुटबल जुत्ता तथा खेल पोसाकको विकास र परीक्षणमा आफ्नो अनुभव प्रयोग गर्नेछन्। कम्पनीले आफ्नो LightSpray प्रविधिलाई फुटबलका लागि अनुकूल बनाउँदै हलुका र उच्च प्रदर्शनयुक्त जुत्ता विकास गर्ने योजना बनाएको छ। ‘अन’ले आफ्नो पहिलो फुटबल बुट २०२७ मा सार्वजनिक गर्ने जनाएको छ।
फुटबलमा प्रवेशलाई बलियो बनाउन पूर्व फ्रान्सेली खेलाडी तथा विश्वकप विजेता Thierry Henry लाई कम्पनीले डाइरेक्टर अफ फुटबल नियुक्त गरेको छ। त्यस्तै, एफसी बार्सिलोनाकी स्विस खेलाडी सिड्नी शेर्टेनलिब पनि महिला फुटबलका उत्पादन विकास र परीक्षणमा सहभागी हुनेछिन्। यससँगै दौडका जुत्ताका लागि चर्चित ‘अन’ले फुटबललाई आफ्नो नयाँ प्रमुख बजारका रूपमा विस्तार गर्न खोजेको देखिन्छ।
एम्बाप्पेको आगमनको खबरसँगै अमेरिकी बजारको प्रि–मार्केट कारोबारमा ‘अन होल्डिङ’को सेयर करिब ५ प्रतिशतले बढेको रोयटर्स ले जनाएको छ। रोजर फेडेररको समर्थन रहेको ‘अन’ले फुटबलमा प्रवेशसँगै नाइकी, एडिडास र पुमाजस्ता स्थापित ब्रान्डसँग प्रतिस्पर्धा गर्ने तयारी गरेको छ।
No advertisements available
प्रतिक्रिया 0