असोज ८ देखि दाङका पाँच सडक राति बन्द

भारीदेखि अति भारी वर्षाको सम्भावना

बिहीबार, ८ आश्विन २०८३, दिउँसो २:५६


दाङ । भारीदेखि अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै दाङका पाँच सडकखण्ड रातिको समयमा बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय दाङले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागको सूचनाका आधारमा असोज ८ गतेदेखि ११ गतेसम्म हरेक दिन बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म ती सडकखण्डमा आवागमन बन्द गर्ने निर्णय गरेको हो। 

प्रशासनका अनुसार राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–कपुरकोट सडकखण्ड, भालुवाङ–चकचके सडकखण्डअन्तर्गत भालुवाङदेखि गनाहा खोलासम्म, शहीद मार्गअन्तर्गत घोराही–होलेरी सडकखण्ड, घोराही–मुर्कुटी सडकखण्ड तथा तुलसीपुर–सुर्खेत सडकखण्डअन्तर्गत तुलसीपुरदेखि कालीमाटीसम्म रातिको समयमा बन्द हुनेछन्। 

जल तथा मौसम विज्ञान विभागले असोज ८ देखि ११ गतेसम्म देशका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ। सम्भावित वर्षाका कारण पहाडी क्षेत्रमा बाढी, पहिरो, भूक्षय तथा गेग्रान बहाव र सडक तथा यातायातमा अवरोधको जोखिम बढ्ने भएकाले प्रशासनले सडक बन्द गर्ने निर्णय गरेको जनाएको छ। सडक विभागले पनि जोखिमयुक्त सडकखण्डमा विशेष सावधानी अपनाउन तथा अत्यावश्यकबाहेक भारी वर्षाका बेला लामो दूरीको यात्रा नगर्न आग्रह गरेको छ।

प्रशासनले यात्रु तथा सर्वसाधारणलाई बेलुका ५ बजेपछि उक्त सडकखण्डमा यात्रा नगर्न र आवश्यक यात्रा भए समय व्यवस्थापन गर्न आग्रह गरेको छ। सम्भावित विपद्बाट जनधनको क्षति न्यूनीकरण तथा यात्रुको सुरक्षा सुनिश्चित गर्न सडक बन्दको निर्णय गरिएको हो। 

यसैबीच, लुम्बिनी प्रदेशमा पनि भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। सम्भावित वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्ने, पहिरो, डुबान तथा सडक यातायात प्रभावित हुन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा नजान र आधिकारिक मौसम सूचना नियमित रूपमा हेर्न सम्बन्धित निकायले आग्रह गरेका छन्।

प्रतिक्रिया 0