निर्यात १३.८ प्रतिशतले बढ्यो, आयात १६.२ प्रतिशतले उक्लियो

बुधबार, १० भदौ २०८३, बेलुका ७:१५

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा नेपालको कुल वस्तु निर्यात १३.८ प्रतिशतले वृद्धि भई रु. ३ खर्ब १५ अर्ब २९ करोड पुगेको छ। अघिल्लो आर्थिक वर्षमा निर्यात ८१.८ प्रतिशतले बढेको थियो। समीक्षा वर्षमा भारततर्फको निर्यात १५.१ प्रतिशत र अन्य मुलुकतर्फ १०.१ प्रतिशतले बढ्दा चीनतर्फको निर्यात भने २८ प्रतिशतले घटेको छ। 

वस्तुगत रूपमा भटमासको तेल, पाम तेल, अलैंची, जुटका सामान तथा चाउचाउलगायतका वस्तुको निर्यात बढेको छ। अर्कोतर्फ जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा तथा हस्तकलाका सामानको निर्यात घटेको राष्ट्र बैंकले जनाएको छ। 

यता कुल वस्तु आयात १६.२ प्रतिशतले बढेर रु. २० खर्ब ९६ अर्ब ३८ करोड पुगेको छ। आयातमा पेट्रोलियम पदार्थ, चाँदी, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्ट्स, रासायनिक मललगायतका वस्तुको हिस्सा बढेको छ। निर्यातको तुलनामा आयात तीव्र रूपमा बढ्दा कुल वस्तु व्यापार घाटा रु. १७ खर्ब ८१ अर्ब ९ करोड पुगेको छ।

प्रतिक्रिया 0