प्रधानमन्त्री राहत कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन

शुक्रबार, १२ भदौ २०८३, बेलुका ५:०८

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ठूलो मात्रामा सहयोग जुटेको छ। अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार मध्यरातसम्मको ३६ घण्टामा कोषका लागि तोकिएका विभिन्न १० वाणिज्य बैंकका खातामा १ अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ जम्मा भएको हो।

बाढीबाट ठूलो क्षति भएपछि सरकारले प्रभावित क्षेत्रलाई संकटग्रस्त घोषणा गर्दै राहत तथा उद्धारका लागि सहयोग आह्वान गरेको थियो। त्यसपछि व्यक्ति तथा विभिन्न संघसंस्थाबाट सहयोग आउने क्रम बढेको हो। सरकारले सहयोग संकलन तथा व्यवस्थापनका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालयको जिम्मेवारी दिएको छ भने संस्थागततर्फ एक करोड रुपैयाँ वा त्यसभन्दा बढी सहयोग गर्ने दातासँग अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले समन्वय गरिरहेका छन्।

नयाँ रकम थपिएसँगै कोषमा सञ्चित रकम ४ अर्ब ९ करोड ११ लाख ६० हजार रुपैयाँ पुगेको छ। यसअघि कोषमा २ अर्ब १७ करोड २५ लाख ९ हजार ७५९ रुपैयाँ रहेको थियो। बिहीबार मात्रै निजी क्षेत्रबाट मन्त्रालयमार्फत थप २७ करोड ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको जनाइएको छ। यो विवरणमा मित्रराष्ट्रहरूले घोषणा गरेका सहयोग रकम भने समावेश गरिएको छैन।

प्रतिक्रिया 0