एनपीएल तेस्रो संस्करणको मिडिया र टिकटिङ अधिकार टुंगियो

विश्वव्यापी ओटीटी नेटटीभी, हिमालय टिभीलाई नेपाल क्षेत्र र इसेवालाई टिकटिङ 

सोमबार, २२ भदौ २०८३, बेलुका ४:०३

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि मिडिया तथा टिकटिङ अधिकारसम्बन्धी बोलपत्र र खरिद प्रक्रिया सम्पन्न गरी सफल अधिकारधनीहरूको घोषणा गरेको छ। क्यानले सार्वजनिक गरेको विवरणअनुसार एनपीएलको तेस्रो संस्करणका लागि विश्वव्यापी ओटीटी अधिकार, नेपाल क्षेत्रको टेलिभिजन अधिकार र टिकटिङ अधिकार छुट्टाछुट्टै कम्पनीलाई प्रदान गरिएको हो।

विश्वव्यापी ओटीटी अधिकार नेटीभी प्रालिले पाएको छ। नेटीभीले यस अधिकारका लागि १८ करोड ४ लाख रुपैयाँ प्रस्ताव गरेको क्यानले जनाएको छ। यससँगै एनपीएलको तेस्रो संस्करण विश्वभर ओटीटी माध्यमबाट प्रसारण गर्ने अधिकार नेटीभीसँग रहनेछ।

त्यस्तै, नेपाल क्षेत्रको लिनियर टेलिभिजन अधिकार हिमालय टेलिभिजन नेटवर्क प्रालिले प्राप्त गरेको छ। यसका लागि कम्पनीले १४ करोड ६४ लाख रुपैयाँ तिर्ने भएको छ। यसले नेपालभित्र एनपीएलका खेल टेलिभिजनमार्फत प्रसारण गर्ने अधिकार हिमालय टेलिभिजनलाई दिएको छ।

एनपीएलको टिकटिङ अधिकार इसेवा लिमिटेडले पाएको छ। टिकटिङ अधिकारका लागि इसेवालाई ८५ लाख रुपैयाँ मा अधिकार प्रदान गरिएको छ। क्यान र इसेवा बीच भएको व्यावसायिक सहमतिअनुसार टिकट बिक्रीबाट प्राप्त आम्दानीको ९५ प्रतिशत क्यान र ५ प्रतिशत इसेवाले प्राप्त गर्ने व्यवस्था गरिएको छ।

यसरी ओटीटी, टेलिभिजन र टिकटिङ अधिकारबाट क्यानले प्रारम्भिक रूपमा कुल ३३ करोड ५३ लाख रुपैयाँ बराबरको रकम प्राप्त गर्नेछ। क्यानले एनपीएलको तेस्रो संस्करणलाई अझ व्यवस्थित, प्रभावकारी र सफल बनाउन अधिकार प्राप्त नेटीभी, हिमालय टेलिभिजन र इसेवालगायत सम्बन्धित साझेदारसँग सहकार्य गर्ने जनाएको छ। प्रेस विज्ञप्तिमा क्यानले सबै अधिकारधनीलाई बधाई दिँदै एनपीएलको तेस्रो संस्करण सफल बनाउन सहकार्यको प्रतिबद्धता जनाएको छ।

एनपीएलको आगामी २०२६ सिजन अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म सञ्चालन हुने तय भएको छ।


प्रतिक्रिया 0