काठमाडौं । रसुवा भोटेकोशी बाढीसम्बन्धी पछिल्लो अपडेटअनुसार बाढी तथा पहिरोमा परी हालसम्म ६१६ जनाको शव फेला परेको छ। त्यस्तै, करिब दुई हजार मानिसहरू अझै हराइरहेको अधिकारीहरूले बताएका छन्। नेपाल प्रहरीका २७ जना प्रहरी कर्मचारीसमेत हालसम्म सम्पर्कविहीन रहेका छन्।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार खोज तथा उद्धार कार्यका लागि ८ हजार ६९१ जना प्रहरी परिचालन गरिएको छ।
बाढी तथा पहिरो प्रभावित विभिन्न जिल्लामा फेला परेका शवमध्ये रसुवामा १३, धादिङमा ४५, गोरखामा ४८, नवलपरासी पूर्वमा १५८, नुवाकोटमा ४१, चितवनमा २३३, तनहुँमा ३१ र नवलपरासी पश्चिममा ४७ जना रहेका छन्।
बाढीपहिरोमा परी २ हजार ३०१ जना घाइते तथा उद्धार गरिएको छ। रसुवामा ६०६, नुवाकोटमा १ हजार ६२२ र धादिङमा ३ जना घाइते तथा उद्धार गरिएको विवरणमा उल्लेख छ।
यसैगरी, काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेहरूको संख्या १४० जना रहेको छ। प्रभावित क्षेत्रमा नेपाल प्रहरीसहित सुरक्षा निकायले खोज, उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइरहेका छन्।
No advertisements available
प्रतिक्रिया 0