काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा चालु आर्थिक वर्षको पहिलो १० महिनामा ५.७ प्रतिशतले वृद्धि भएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्मको समष्टिगत आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार निजी क्षेत्रतर्फको कर्जा प्रवाहमा क्रमिक सुधार देखिएको हो।
प्रतिवेदनअनुसार सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप परिचालन ९.४ प्रतिशतले बढेको छ भने वार्षिक बिन्दुगत आधारमा निक्षेप वृद्धि दर १६ प्रतिशत पुगेको छ। निजी क्षेत्रतर्फको कर्जा भने वार्षिक बिन्दुगत आधारमा ६.७ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा तरलता सहज बन्दै जाँदा कर्जा विस्तारले पनि गति लिन थालेको छ। पछिल्ला महिनाहरूमा ब्याजदर घट्दै गएको, अन्तरबैंक दर न्यून रहेको तथा बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त रहेकाले कर्जा प्रवाह विस्तार हुने वातावरण बनेको देखिन्छ।
यद्यपि कर्जा वृद्धि अझै अपेक्षाकृत कमजोर नै रहेको छ। व्यवसायिक गतिविधि पूर्ण रूपमा चलायमान हुन नसक्दा र निजी क्षेत्रको लगानी उत्साह अपेक्षित रूपमा नबढ्दा कर्जा विस्तारको गति सीमित रहेको विश्लेषण गरिएको छ।
राष्ट्र बैंकको तथ्यांकले भने निक्षेपको तुलनामा कर्जा विस्तार अझै सुस्त रहे पनि बैंकिङ प्रणालीमा सुधारको संकेत देखिन थालेको जनाएको छ।
प्रतिक्रिया 0