रूस–युक्रेन युद्धले खाद्य बजार प्रभावित

सोमबार, १५ भदौ २०८३, राति १०:२२


एजेन्सी। रूस–युक्रेन युद्धका कारण कालो सागर (ब्ल्याक सी) क्षेत्रमा फेरि बढेको तनावले विश्व खाद्यान्न बजारमा दबाब सिर्जना गरेको छ। विश्व बजारमा गहुँ तथा अन्य अन्नबालीको मूल्य बढ्न थालेपछि चार वर्षअघिको खाद्य संकट दोहोरिने आशंका बढेको भए पनि अवस्था तत्काल त्यति गम्भीर नभएको विश्लेषकहरूले बताएका रोयटर्सले जनाएको छ ।

रूस र युक्रेन विश्वका प्रमुख गहुँ निर्यातकर्ता हुन्, जसले संयुक्त रूपमा विश्व गहुँ निर्यातको झन्डै एकतिहाइ हिस्सा ओगट्छन्। पछिल्ला महिनाहरूमा दुवै देशले एकअर्काका बन्दरगाह, अन्न भण्डारण केन्द्र तथा मालवाहक जहाजमा आक्रमण बढाएपछि कालो सागरमार्फत हुने अन्न ढुवानी प्रभावित भएको छ। रूसले केही निर्यात बाल्टिक सागरका बन्दरगाहतर्फ मोडेको भए पनि ती मार्गले पूर्ण क्षमतामा आपूर्ति गर्न नसक्ने देखिएको छ। 

यसबीच, मौसमजन्य जोखिम, युरोप तथा अन्य क्षेत्रमा देखिएको खडेरी र ढुवानी अवरोधले पनि खाद्यान्न बजारमा थप दबाब सिर्जना गरेको छ। सन् २०२६ को सुरुवातदेखि गहुँको अन्तर्राष्ट्रिय मूल्य झन्डै २५ प्रतिशतसम्म बढेको बताइएको छ भने केही सूचकांक दुई वर्षयताकै उच्च बिन्दुमा पुगेका छन्। 

विशेषज्ञहरूका अनुसार हाल विश्वमा चार वर्षअघिको जस्तो गम्भीर खाद्यान्न संकट देखिएको छैन, किनकि विभिन्न देशसँग पर्याप्त मौज्दात रहेको छ। तर कालो सागर क्षेत्रको अवरोध लामो समयसम्म कायम रहेमा खाद्यान्नको मूल्य अझ बढ्न सक्ने र आयातमा निर्भर मुलुकहरूमा महँगीको दबाब थपिने चेतावनी दिइएको छ। 

प्रतिक्रिया 0