व्यापारदेखि सुरक्षासम्म सहकार्य विस्तारको तयारी
काठमाडौं । युरोपेली संघ (ईयू) ले ब्रेक्जिटपछि बेलायतसँगको सम्बन्धभन्दा क्यानडासँग अझ घनिष्ठ र व्यापक सम्बन्ध विकास गर्ने सम्भावना देखेको छ। ईयू र क्यानडाबीच व्यापार, सुरक्षा, रक्षा, प्रविधि तथा रणनीतिक क्षेत्रमा सहकार्य विस्तार गर्दै नयाँ ट्रान्स–एटलान्टिक गठबन्धन निर्माण गर्ने तयारी भइरहेको छ।
ब्लुमबर्गका अनुसार, क्यानडा ब्रेक्जिटको राजनीतिक तथा संस्थागत जटिलताबाट मुक्त रहेकाले ईयूका लागि बेलायतभन्दा सहज रणनीतिक साझेदार बन्न सक्ने अधिकारीहरूको बुझाइ छ। क्यानडाका प्रधानमन्त्री मार्क कार्नीको सरकारले ईयूसँगको साझेदारीलाई उच्च प्राथमिकतामा राखेको छ र औपचारिक ईयू सदस्यताबाहेक सम्भावित सहकार्यका विभिन्न विकल्पमाथि काम गरिरहेको छ। प्रस्तावित सहकार्यमा रक्षा, अन्तरिक्ष अनुसन्धान, वैज्ञानिक अनुसन्धान, महत्वपूर्ण खनिज, डिजिटल व्यापार तथा आर्थिक सुरक्षाजस्ता क्षेत्र समेटिनेछन्।
यो पहल अमेरिका र चीनको बढ्दो भूराजनीतिक तथा आर्थिक प्रभावबीच ईयू र क्यानडाजस्ता मध्यम शक्तिहरूबीच रणनीतिक समन्वय बलियो बनाउने प्रयासका रूपमा हेरिएको छ। ईयू–क्यानडा सुरक्षा तथा रक्षा साझेदारी अघि बढिसकेको छ भने डिजिटल व्यापार सम्झौता र रक्षा औद्योगिक सहकार्यसमेत विस्तारको क्रममा छन्।
ईयू आयोगकी अध्यक्ष उर्सुला फन डेर लेयेनले सेप्टेम्बर १६ मा स्ट्रासबर्गमा हुने ‘स्टेट अफ द युनियन’ सम्बोधनका क्रममा यस्तो व्यापक साझेदारीको योजना घोषणा गर्ने अपेक्षा गरिएको छ। प्रधानमन्त्री कार्नी त्यसपछि युरोपेली सांसदहरूलाई सम्बोधन गर्ने कार्यक्रम छ।
No advertisements available
प्रतिक्रिया 0