काठमाडौं । नेपालमा आएको विनाशकारी बाढी तथा त्यसबाट उत्पन्न जोखिमबारे नागरिकलाई तत्काल र एकै ठाउँबाट आवश्यक सूचना उपलब्ध गराउन गुगलले आफ्नो सर्च इन्जिनमा ‘नेपाल फ्ल्यास फ्लड इमर्जेन्सी इन्फो एन्ड अपडेट्स’ सेवा समावेश गरेको छ।
गुगलको होम पेजमा देखिने उक्त लिंकमार्फत प्रयोगकर्ताले नेपालमा जारी बाढीसम्बन्धी महत्वपूर्ण सूचना, प्रभावित क्षेत्रको नक्सा तथा पछिल्ला समाचार र अपडेटहरू हेर्न सक्ने व्यवस्था गरिएको छ।
यसमा गुगलको ‘फ्लड अलर्ट’ प्रणालीबाट उपलब्ध बाढीसम्बन्धी चेतावनीसँगै अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचारलाई समेत एकै स्थानमा देखाइएको छ। यसले बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न तथा जोखिममा रहेका व्यक्तिलाई आवश्यक सावधानी अपनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
गुगलले यसअघि नै आफ्नो Flood Hub मार्फत नदीजन्य बाढीको पूर्वानुमान तथा स्थानीय तहमा उपयोगी हुने बाढीसम्बन्धी चेतावनी उपलब्ध गराउँदै आएको छ। गुगलका अनुसार यसको एआईमा आधारित प्रणालीले बाढीको जोखिमबारे सात दिनअघिसम्म पूर्वानुमान उपलब्ध गराउन सक्छ।
नेपालमा भने पछिल्लो सेवा बाढीबाट उत्पन्न आपतकालीन अवस्थाका सूचना तथा अपडेटलाई नागरिकसम्म छिटो पुर्याउने उद्देश्यले उपयोगी हुने देखिएको छ। विशेषगरी रसुवा, नुवाकोट, धादिङलगायत भोटेकोशी–त्रिशूली करिडोरका क्षेत्रमा बाढीले ठूलो क्षति पुर्याएपछि विश्वसनीय सूचना र जोखिमसम्बन्धी चेतावनीको पहुँच अझ महत्वपूर्ण बनेको छ।
नेपाल सरकारले पनि बाढीपछि नदी प्रणाली तथा तल्लो तटीय क्षेत्रमा हुन सक्ने जोखिमको निरन्तर निगरानी गरिरहेको जनाएको छ। जल तथा मौसम विज्ञान विभागले अत्यधिक मौसम तथा बाढीसम्बन्धी जानकारीका लागि टोल–फ्री नम्बर ११५५ समेत सञ्चालनमा राखेको छ।
यस्तो अवस्थामा गुगलको आपतकालीन सूचना सेवाले बाढीको जोखिम, प्रभावित क्षेत्र, नक्सा र समाचारलाई एउटै डिजिटल पहुँचमा ल्याउने भएकाले सर्वसाधारण, प्रभावित परिवार तथा विदेशमा रहेका नेपालीका लागि समेत उपयोगी सूचना स्रोत बन्न सक्ने देखिन्छ।
विशेषगरी विपद्को समयमा सामाजिक सञ्जालमा फैलिन सक्ने अपुष्ट सूचनाभन्दा आधिकारिक तथा विश्वसनीय स्रोतबाट प्राप्त चेतावनी र अपडेट हेर्न नागरिकलाई सहज बनाउने उद्देश्यले यस्तो डिजिटल सूचना संयन्त्र महत्वपूर्ण मानिएको छ।
No advertisements available
प्रतिक्रिया 0