बाढीले २७ जलविद्युत आयोजना प्रभावित

१२ वटा सञ्चालनमा रहेका र १५ वटा निर्माणाधीन 

बिहीबार, ११ भदौ २०८३, बिहान ९:११

रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीका कारण सञ्चालनमा रहेका र निर्माणाधीन गरी २७ वटा जलविद्युत आयोजना प्रभावित भएका छन्। बाढीका कारण १२ वटा सञ्चालनमा रहेका आयोजना बन्द भएका छन् भने १५ वटा निर्माणाधीन आयोजना प्रभावित भएका छन्।

सञ्चालनमा रहेका आयोजनाबाट करिब ४३१ मेगावाट विद्युत उत्पादन क्षमता प्रणालीबाट बाहिरिएको छ। निर्माणाधीन आयोजनातर्फ करिब ४७० मेगावाट क्षमताका परियोजना प्रभावित भएका छन्।

बाढीबाट रसुवागढी, सान्जेन, माथिल्लो त्रिशूली–३ए, माथिल्लो त्रिशूली–१ तथा रसुवा भोटेकोशीलगायतका आयोजनामा क्षति पुगेको छ। आयोजना संरचनासँगै प्रसारण तथा वितरण प्रणालीमा समेत ठूलो क्षति पुगेको छ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार क्षतिग्रस्त जलविद्युत संरचना पुनर्निर्माण गर्न मात्रै ३० अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्न सक्ने प्रारम्भिक अनुमान छ। विस्तृत क्षति मूल्यांकनपछि वास्तविक लागत यकिन हुने बताइएको छ।

बाढीका कारण विभिन्न आयोजनामा कार्यरत कर्मचारी तथा कामदारसमेत सम्पर्कविहीन भएका छन्। नेपाल विद्युत प्राधिकरणसहित सम्बन्धित निकायले उद्धार, क्षति मूल्यांकन र विद्युत आपूर्ति पुनःस्थापनाका लागि काम अघि बढाएका छन्।

यस घटनाले जलविद्युत आयोजना, प्रसारण पूर्वाधार र ऊर्जा क्षेत्रमा प्राकृतिक विपद्को जोखिम तथा पुनर्निर्माणका लागि आवश्यक ठूलो वित्तीय स्रोतको विषयलाई समेत सतहमा ल्याएको छ।

प्रतिक्रिया 0