सतर्क रहन प्रधानमन्त्रीको आग्रह
काठमाडौं । मौसम विज्ञान विभागले आगामी शुक्रबार असोज ९ गतेदेखि आइतबार असोज ११ गतेसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। सम्भावित वर्षालाई ध्यान दिँदै प्रधानमन्त्री बालेन्द्र शाहले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।
विभागका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी तथा एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने सम्भावना छ। त्यस्तै, कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
मौसम प्रणालीको प्रभावले गण्डकीको पोखरा आसपास, लुम्बिनीका पहाडी तथा तराई क्षेत्र, कोशीको ताप्लेजुङलगायत हिमाली भूभाग, बागमतीका पहाडी क्षेत्र, कर्णालीको जुम्ला आसपास तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा बाढी, पहिरो, डुबान र सडक अवरोधको जोखिम रहेको जनाइएको छ। भारी वर्षाका कारण गेग्रान बहाव तथा नदी–खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने विभागले जनाएको छ।
प्रधानमन्त्री शाहले पानी परिरहेको समयमा तथा विशेषगरी रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न आग्रह गरेका छन्। पहिरो तथा बाढीको जोखिम भएका क्षेत्र र नदी तथा खोलानजिक विशेष सतर्कता अपनाउन तथा ट्रेकिङ र हिमाली क्षेत्रमा जाने योजना मौसम सुधार नभएसम्म स्थगित वा पुनर्विचार गर्न उनले अनुरोध गरेका छन्।
सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायलाई आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन आग्रह गर्दै प्रधानमन्त्री शाहले मौसम विज्ञान विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने सूचना नियमित रूपमा हेर्न र आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न पनि अनुरोध गरेका छन्।
No advertisements available
प्रतिक्रिया 0