काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज जैविक कृषि उत्पादन, प्रशोधन, व्यापार, बजार विस्तार तथा निर्यात प्रवर्द्धनका विषयमा अर्गानिक एसोसिएसन अफ नेपाल (OAN) का पदाधिकारी तथा उद्यमीहरूसँग उच्चस्तरीय छलफल गर्ने भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:३० बजे हुने छलफलमा जैविक कृषि उत्पादनको प्रवर्द्धन, प्रशोधन उद्योगको विकास, स्वदेशी उत्पादनको बजार विस्तार तथा अन्तर्राष्ट्रिय बजारमा निर्यात वृद्धि गर्ने विषयमा विचार–विमर्श हुने जनाइएको छ। साथै, जैविक कृषि क्षेत्रमा देखिएका नीतिगत तथा व्यावहारिक समस्याबारे पनि उद्यमीहरूले सरकारसमक्ष आफ्ना सुझाव प्रस्तुत गर्नेछन्।
छलफलमा अर्गानिक एसोसिएसन अफ नेपालका अध्यक्ष दीपक बस्कोटा, उपाध्यक्ष प्रेम लामा, गोरखा टी इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन साङ्ग्रिला टी फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली तथा अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रिजका अध्यक्ष परशुराम आचार्यलगायत सहभागी हुने कार्यक्रम रहेको छ।
अर्गानिक एसोसिएसन अफ नेपाल जैविक कृषि उत्पादन, प्रशोधन, व्यापार तथा उपभोग प्रवर्द्धनका लागि सक्रिय संस्था हो। पछिल्लो समय सरकारले जैविक कृषि क्षेत्रको उत्पादन वृद्धि, मूल्य अभिवृद्धि, रोजगारी सिर्जना तथा निर्यात विस्तारलाई प्राथमिकतामा राख्दै निजी क्षेत्रसँग समन्वय बढाउने प्रयास गरिरहेको छ।
प्रधानमन्त्री शाहले पछिल्ला दिनमा उद्योग, व्यापार, उत्पादन तथा उद्यमशीलता क्षेत्रका प्रतिनिधिहरूसँग निरन्तर संवाद गर्दै आएका छन्। सम्बन्धित क्षेत्रबाट प्राप्त सुझाव र वास्तविक समस्याका आधारमा आवश्यक नीतिगत सहजीकरण, लगानीमैत्री वातावरण निर्माण तथा व्यवसाय सञ्चालनमा देखिएका समस्या समाधानका लागि पहल गर्दै आएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
(RSS)
प्रतिक्रिया 0