काठमाडौं - सरकारले बैंकिङ, बिमा, स्वास्थ्य, सञ्चार, विद्युत्, खानेपानी, हवाई तथा सार्वजनिक यातायातलगायत २५ वटा अत्यावश्यक सेवामा हडताल गर्न निषेध गरेको छ।
आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै सरकारले बैंकिङ, बिमा लगायत २५ वटा अत्यावश्यक सेवामा हडताल गर्न निषेध गरेको छ। सोमबार गृह मन्त्रालयद्वारा नेपाल राजपत्रमा प्रकाशित सूचनामा उक्त व्यवस्था उल्लेख गरिएको हो ।
गृह मन्त्रालयले अत्यावश्यक सेवा सञ्चालन ऐनअन्तर्गत सूचना जारी गर्दै सर्वसाधारणको दैनिक जीवन, राष्ट्रिय अर्थतन्त्र तथा सार्वजनिक सेवा प्रवाहमा प्रतिकूल असर नपरोस् भन्ने उद्देश्यले उक्त निर्णय गरिएको जनाएको छ।
सूचनाअनुसार बैंक तथा वित्तीय संस्था, बिमा सेवा, दूरसञ्चार, हुलाक, विद्युत् उत्पादन तथा वितरण, पेट्रोलियम पदार्थ आपूर्ति, खानेपानी, सरसफाइ, स्वास्थ्य सेवा, हवाई तथा सार्वजनिक यातायातलगायतका क्षेत्रलाई अत्यावश्यक सेवाको सूचीमा राखिएको छ।
सरकारले तोकेको अवधिभर यी सेवामा बन्द, हडताल वा कामकाज अवरुद्ध गर्ने गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ। आदेश उल्लंघन गर्ने व्यक्ति वा संस्थामाथि प्रचलित कानुनअनुसार कारबाही हुने जनाइएको छ।
सरकारले हडताल गर्न निषेध गरेका २५ आवश्यक सेवा
१. डाँक, तार वा टेलिफोन सेवा
२. जल, स्थल वा हवाईजहाज मार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात सेवा
३. हवाई अड्डा वा हवाईजहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा
४. हवाई ग्राउन्ड, रेल्वे स्टेसन वा सरकारी गोदाममा मालसामान ओसारपसार गर्ने वा राख्ने, झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा
५. प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा
६. हातहतियार, खरखजाना वा अरू कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवा
७. सञ्चार सेवा
८. आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा
९. खानेपानीको सञ्चालन तथा वितरण सेवा
१०. पर्यटन आवास, मोटेल, होटेल, रेस्टुराँ र रिसोर्टसम्बन्धी सेवा
११. पेट्रोलियम पदार्थ (एलपी ग्यास समेत) को पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा
१२. अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा (एम्बुलेन्सजस्ता सेवाहरू समेत)
१३. औषधि निर्माण तथा बिक्री–वितरणसम्बन्धी सेवा
१४. फोहोरमैलाको संकलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलनस्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा
१५. बैंकिङ सेवा
१६. बिमा सेवा
१७. विद्युत् सेवा
१८. दैनिक उपभोग्य वस्तुहरू (खाद्यान्न, दाल, चामल, नुन, तेल) को पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा
१९. मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा
२०. मास्कसम्बन्धी सेवा
२१. ह्यान्ड स्यानिटाइजरसम्बन्धी सेवा
२२. भेटेरिनरी सेवा
२३. कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवा
२४. राहदानी विभागबाट प्रदान हुने सेवा
२५. इन्टरनेट सेवा ।
प्रतिक्रिया 0