काठमाडौं । त्रिशूली नदीमा आएको भीषण बाढीका कारण देशका विभिन्न क्षेत्रमा कम्तीमा १९ वटा पुल र करिब ४० किलोमिटर सडकमा क्षति पुगेको सडक विभागले जनाएको छ। बाढीले सडक तथा पुलमा ठूलो क्षति पुर्याएपछि केही क्षेत्रमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
सडक विभागका अनुसार बाढीका कारण क्षतिग्रस्त सडक तथा पुलको अवस्था मूल्यांकन गरी तत्काल मर्मत तथा पुनःस्थापनाको काम अघि बढाउन आवश्यक उपकरण र जनशक्ति परिचालन गरिएको छ।
विशेषगरी त्रिशूली नदी आसपासका क्षेत्रमा आएको बाढीले सडक संरचनामा ठूलो क्षति पुर्याएको छ। पुलहरूमा क्षति पुग्दा विभिन्न सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ भने केही स्थानमा सडक सम्पर्क नै विच्छेद भएको विभागले जनाएको छ।
अचानक आएको ठूलो बाढीले सडकको केही भाग बगाउनुका साथै पुलका संरचनामा समेत क्षति पुर्याएको हो। क्षतिग्रस्त संरचनाको विस्तृत विवरण संकलन तथा प्राविधिक मूल्यांकनपछि पुनर्निर्माण र मर्मतको कामलाई प्राथमिकताका आधारमा अघि बढाइने विभागको तयारी छ।
रसुवालगायत बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै अवरुद्ध सडक सम्पर्क पुनःस्थापना गर्नु अहिले प्रमुख चुनौती बनेको छ।
No advertisements available
प्रतिक्रिया 0