सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विभिन्न क्षेत्रमा करको भार बढाएको छ। सबैभन्दा बढी प्रभाव शेयर बजार, घरजग्गा कारोबार र विदेश अध्ययन क्षेत्रमा पर्ने देखिएको छ।
शेयर बजारमा अल्पकालीन लगानीकर्ताले अब ७.५ प्रतिशतको सट्टा १० प्रतिशत र दीर्घकालीन लगानीकर्ताले ५ प्रतिशतको सट्टा ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्नेछ।
त्यसैगरी, घरजग्गा बिक्रीबाट हुने लाभमा लाग्ने पुँजीगत लाभकर पनि ५ प्रतिशतबाट बढाएर ७.५ प्रतिशत पुर्याइएको छ।
विदेश अध्ययनका लागि जाने विद्यार्थीले अब कलेज शुल्क वा अन्य शैक्षिक खर्चका लागि विदेशी मुद्रा सटही गर्दा ३ प्रतिशत शिक्षा सेवा शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ। यसले विदेशमा अध्ययन गर्ने विद्यार्थी तथा अभिभावकको खर्च थप बढाउनेछ।
यस्तै, हीरा तथा बहुमूल्य पत्थरमा दिइँदै आएको भ्याट छुट हटाएर १३ प्रतिशत भ्याट लगाइएको छ भने ०.५ प्रतिशतभन्दा बढी अल्कोहल भएका सबै पेय पदार्थलाई मदिराको दायरामा ल्याई अन्तःशुल्कको दायरा विस्तार गरिएको छ। साथै, कर नतिर्ने तथा विवरण नबुझाउने करदातामाथि थप कडा प्रशासनिक कारबाहीको व्यवस्था गरिएको छ।
यद्यपि सरकारले स्वास्थ्य क्षेत्रमा प्रयोग हुने क्यान्सर, मुटु तथा मिर्गौला उपचारसम्बन्धी उपकरणमा भ्याट छुट दिएको छ भने डेरी तथा पोल्ट्री उद्योगका केही उत्पादनलाई पनि कर सहुलियत प्रदान गरेको छ। साथै, पुराना कर बक्यौता तिर्न चाहने व्यवसायीका लागि जरिवाना र ब्याज छुटको व्यवस्था पनि गरिएको छ।
प्रतिक्रिया 0