प्रधानमन्त्री शाहको सन्देश : ‘सुशासन नारा होइन, काम हो’

संविधान दिवस २०८३

आइतबार, ४ आश्विन २०८३, बिहान ६:५९


काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री वालेन्द्र शाहले संविधानले परिकल्पना गरेको समतामूलक समाज, सुशासन, सामाजिक न्याय र विकासको लक्ष्य कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

प्रधानमन्त्री शाहले राजनीतिक व्यवस्था परिवर्तन तथा सुशासनका लागि भएका आन्दोलनमा ज्यान गुमाउने ज्ञात–अज्ञात शहीद तथा ऐतिहासिक जेनजी आन्दोलनमा सहादत प्राप्त गर्नेहरूप्रति श्रद्धाञ्जली अर्पण गरे। साथै, हालैको रसुवा–भोटेकोशी बाढीमा परी ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले संविधानले विविधताबीचको एकता, विभेद तथा असमानताको अन्त्य, विकास, समृद्धि र सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माणको वाचा गरेको उल्लेख गरे। प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र कानुनी शासनलाई राष्ट्रिय जीवनका आधारका रूपमा प्रस्तुत गर्दै उनले संविधानको अक्षर र भावनाप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताए।

प्रधानमन्त्री शाहले संविधान राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने हात इमानदार र सक्रिय नभए संविधान कागजको खोस्टोमा सीमित हुने बताए। ‘यो सुरुवात हो, अन्त्य होइन’ भन्दै उनले भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो भए पनि त्यसविरुद्ध काम गर्ने शक्ति बलियो हुँदै गएको दाबी गरे। विकासका लागि सुशासन अनिवार्य पूर्वसर्त रहेको उल्लेख गर्दै सरकारले प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, प्रशासनमा राजनीतिक तटस्थता तथा सरकारी र सार्वजनिक पदमा योग्यतामा आधारित नियुक्तिलाई प्राथमिकता दिएको बताए।

उनले ‘सुशासन नारा होइन, काम हो’ भन्दै संघ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयमार्फत राष्ट्रिय विकासको साझा उद्देश्य हासिल गर्न सरकार प्रतिबद्ध रहेको बताए। साथै, कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि र साइबर सुरक्षालाई एकीकृत गर्दै नवप्रवर्तन तथा स्टार्टअपलाई प्राथमिकतामा राखेर ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्ने सरकारको योजना सुनाए। डिजिटल सुशासन ब्लुप्रिन्टअनुसारको राष्ट्रिय डिजिटल पूर्वाधारलाई यस अभियानको आधारका रूपमा प्रस्तुत गर्दै युवाले सडकमा उठाएको सुशासनको माग प्रविधिमार्फत पनि सम्बोधन गर्ने बताए।

रसुवा–भोटेकोशी बाढीबाट भएको क्षति अकल्पनीय र अपूरणीय रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले उद्धार तथा राहतमा सहयोग गर्ने मित्रराष्ट्र, अन्तर्राष्ट्रिय समुदाय, संघसंस्था, निजी क्षेत्र, राष्ट्रसेवक कर्मचारी तथा आम नागरिकप्रति आभार व्यक्त गरे। नेपाल उच्च विपद् जोखिममा रहेको तथ्यलाई ध्यानमा राख्दै विपद् आएपछि मात्र होइन, जोखिम आउनुअघि नै तयारी गर्ने नीति आवश्यक रहेको उनको भनाइ थियो। उनले जोखिम न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यलाई प्राथमिकता दिँदै विपद्को पूर्वसूचना प्रणाली सर्वोच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने बताए।

सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले संविधान दिवस हरेक वर्ष आउने भए पनि संविधानको वास्तविक कार्यान्वयन नागरिकका दैनिक जीवनमा हुने इमानदार निर्णय, पारदर्शी नियुक्ति र घरदैलोमा पुग्ने सेवामार्फत हुने बताए। जनताले सुशासन, विकास, समृद्धि र सामाजिक न्यायको अपेक्षा गरेको उल्लेख गर्दै उनले सरकारका हरेक कदम त्यही आकांक्षा पूरा गर्ने दिशामा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरे।

‘शहीदहरूको रगतले लेखेको संविधान, हामी कामले पूरा गर्छौँ’ भन्दै प्रधानमन्त्री शाहले सम्पूर्ण नेपालीलाई संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को शुभकामना दिएका छन्।

प्रतिक्रिया 0