दुई महिनादेखिको अवरोधपछि नेपाली चिया निर्यातमा सकारात्मक संकेत

शनिबार, १३ असार २०८३ ०५:०० बेलुका
Font Size: 20px

इलाम झण्डै दुई महिनादेखि भारतीय बजारमा निर्यात अवरुद्ध भएपछि संकटमा परेको नेपाली चिया उद्योगमा सुधारको संकेत देखिएको छ। भारतीय अधिकारीहरूले आयातित चियाको शतप्रतिशत स्याम्पलिङ (नमुना परीक्षण) गर्ने व्यवस्था हटाएर अब २० प्रतिशत नमुनामात्र परीक्षण गर्न भन्सार निकायलाई निर्देशन दिएको जानकारीपछि उद्योगीहरू आशावादी बनेका हुन्।

नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीका अनुसार भारतीय पक्षको पत्राचारपछि उद्योगीहरूले बन्द रहेका उद्योग पुनः सञ्चालन गर्न थालेका छन्। यद्यपि नयाँ व्यवस्था व्यवहारमा कसरी कार्यान्वयन हुन्छ भन्ने स्पष्ट हुन केही दिन अझै पर्खिनुपर्ने उनले बताएका छन्।

भारतीय बजारतर्फ निर्यात ठप्प भएपछि असार लागेदेखि धेरै चिया उद्योग बन्द भएका थिए। यसबीच नेपाल सरकारले भारतसँग कूटनीतिक पहल गर्नुका साथै तेस्रो मुलुकमा निर्यात विस्तारका लागि पनि पहल गर्ने आश्वासन दिएको छ।

एसओपी कार्यान्वयनले बढाएको समस्या 

चिया निर्यातमा देखिएको पछिल्लो अवरोध भारतीय चिया बोर्डले फेब्रुअरी १० मा जारी गरेको स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्योर (SOP) कार्यान्वयनसँग जोडिएको हो। उक्त व्यवस्था मे १ देखि लागू भएपछि नेपालबाट भारत निर्यात हुने प्रत्येक खेपको गुणस्तर परीक्षण अनिवार्यजस्तै बनेको थियो।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक सुरेन्द्र सुवेदीका अनुसार नयाँ नियममा धेरै परिवर्तन नभए पनि प्रत्येक खेपको परीक्षण, नतिजा आउन दुई साताभन्दा बढी समय लाग्ने अवस्था र प्रक्रियागत झन्झटले उद्योगीहरू प्रभावित भएका छन्।

यसका कारण भारत पुगेको चिया लामो समय गोदाममा राख्नुपर्दा भण्डारण खर्च बढेको छ भने परीक्षण शुल्क तथा पुनः परीक्षण खर्चले समेत निर्यातकर्ताको लागत बढाएको उद्योगीहरूको भनाइ छ।

भारतमै अत्यधिक निर्भर नेपाली चिया 

नेपालमा वार्षिक करिब २ करोड ५० लाख किलोग्राम भन्दा बढी चिया उत्पादन हुने गरेको छ। गत वर्ष नेपालले करिब १ करोड ५६ लाख किलोग्राम चिया निर्यात गरेर ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गरेको थियो।

त्यसमध्ये ८६ देखि ९० प्रतिशत चिया भारतमै निर्यात हुने भएकाले भारतीय बजारमा आएको कुनै पनि अवरोधले नेपाली चिया उद्योगमा प्रत्यक्ष असर पर्ने गरेको छ। विशेषगरी अर्थोडक्स चियाको अधिकांश उत्पादन भारतमै निर्यात हुने गरेको तथ्यांक छ।

तेस्रो मुलुकतर्फ बजार विस्तारमा जोड 

सरकारले चिया निर्यातमा देखिएका समस्याको अध्ययन गरी तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधान सुझाउन विशेष कार्यदल गठन गरेको छ। कार्यदलले दुई साताभित्र प्रतिवेदन बुझाउने तयारी गरिरहेको छ।

विशेषज्ञहरूले अहिलेको संकटलाई वैकल्पिक बजार विस्तार गर्ने अवसरका रूपमा लिनुपर्ने सुझाव दिएका छन्। पाकिस्तान, बङ्गलादेश, चीन तथा युरोपेली मुलुकहरू नेपाली चियाका सम्भावित बजार मानिएका छन्। साथै देशभित्रै अन्तर्राष्ट्रियस्तरको गुणस्तर परीक्षण प्रयोगशाला, अक्सन सेन्टर स्थापना तथा चिया क्षेत्रको संस्थागत क्षमता सुदृढ गर्नुपर्ने आवश्यकता पनि औँल्याइएको छ।

प्रतिक्रिया 0