नेपालका लागि विकास साझेदारीको नयाँ अध्याय सुरु हुने संकेत देखिएको छ। प्रधानमन्त्री वालेन्द्र शाह र एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डाबीच मंगलबार भएको शिष्टाचार भेटले नेपालमा पूर्वाधार, ऊर्जा, डिजिटल रूपान्तरण र पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रिय विकास साझेदारी थप मजबुत हुने अपेक्षा बढाएको छ।
भेटका क्रममा दुवै पक्षले करिब छ दशकदेखि जारी नेपाल–एडीबी विकास साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री शाहले सुशासन, पारदर्शिता र सुधारमार्फत नेपालको विकासले नयाँ गति लिने विश्वास व्यक्त गरेका थिए।
विशेषगरी जलविद्युत्, पर्यटन, डिजिटलाइजेसन तथा पर्यटकीय सडक पूर्वाधारलाई सहकार्यका प्राथमिक क्षेत्रका रूपमा अघि बढाउने विषयमा सकारात्मक छलफल भएको छ। यी क्षेत्रलाई नेपालको दीर्घकालीन आर्थिक रूपान्तरणका प्रमुख आधारका रूपमा हेरिएको छ।
एडीबी अध्यक्ष मासातो कान्डाले नेपालमा विकास सहयोग अझ विस्तार गर्ने प्रतिबद्धता जनाउँदै एडीबी नेपालको आर्थिक विकास र समृद्धिको दीर्घकालीन साझेदार का रूपमा निरन्तर साथ रहने बताएका छन्। उनले नेपालको आर्थिक सम्भावना, सुधारप्रतिको प्रतिबद्धता तथा युवा नेतृत्वको प्रशंसा गर्दै सही नीति, सुशासन र प्रभावकारी कार्यान्वयन भए नेपालले तीव्र आर्थिक रूपान्तरण हासिल गर्न सक्ने विश्वास व्यक्त गरेका छन्।
विश्लेषकहरूका अनुसार एडीबीको यस्तो प्रतिबद्धता केवल विकास सहायता प्राप्त गर्ने विषय मात्र होइन। यदि सरकारले सुशासन, परियोजना कार्यान्वयन, सार्वजनिक वित्त व्यवस्थापन र लगानीमैत्री वातावरण सुधारमा अपेक्षित प्रगति गर्न सकेमा, नेपालले आगामी दशकमा पूर्वाधार, ऊर्जा, डिजिटल अर्थतन्त्र र निजी क्षेत्रको लगानी विस्तारमार्फत तीव्र आर्थिक विकास हासिल गर्ने ऐतिहासिक अवसर प्राप्त गर्न सक्छ।
एडीबी अध्यक्षको भ्रमण र उच्चस्तरीय प्रतिबद्धताले नेपालका लागि विकास वित्त, पूर्वाधार निर्माण र आर्थिक रूपान्तरणको नयाँ अवसर सिर्जना गरेको संकेत दिएको छ। अब यो अवसरलाई वास्तविक उपलब्धिमा बदल्ने जिम्मेवारी भने सुशासन, नीतिगत स्थिरता र प्रभावकारी कार्यान्वयन मा निर्भर रहनेछ।
प्रतिक्रिया 0