राहत कोषमा १ लाख सहयोग गर्न खोज्दा १० लाख जम्मा भएपछि

बिहीबार, ११ भदौ २०८३, बेलुका ४:०९

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित समुदायको राहत तथा उद्धारका लागि सहयोग गर्न खोज्दा एक सहकारी संस्थाबाट १० लाख रुपैयाँ राहत कोषमा जम्मा भएको छ।

सहयोग गर्ने क्रममा १ लाख रुपैयाँ योगदान गर्ने उद्देश्य भए पनि कनेक्ट आईपीएसमार्फत रकम पठाउँदा भूलवश १० लाख रुपैयाँ ट्रान्सफर भएको भन्दै सुयोग्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रकम फिर्ता गरिदिन अनुरोध गरेको छ।

सहकारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई पत्र पठाउँदै आफ्नो ग्लोबल आईएमई बैंकको खाताबाट कनेक्ट आईपीएसमार्फत रकम ट्रान्सफर गर्दा आफूले योगदान गर्न खोजेकोभन्दा बढी रकम गएको जनाएको हो।

सहकारीले पत्रमार्फत भूलवश ट्रान्सफर भएको ९ लाख रुपैयाँ फिर्ता गरिदिन अनुरोध गरेको छ। साथै आफूले सहयोग गर्न चाहेको १ लाख रुपैयाँ भने छुट्टै ट्रान्सफर हुने जनाएको छ।

रसुवाको भोटेकोशी बाढीपछि राहत तथा उद्धारका लागि विभिन्न व्यक्ति, संस्था तथा व्यवसायीले सहयोग गरिरहेका बेला रकम ट्रान्सफरमा भएको यो त्रुटिको विषय सामाजिक सञ्जालमा समेत चर्चामा आएको छ।


प्रतिक्रिया 0