नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले वातावरणीय, सामाजिक तथा सुशासन (ESG), जलवायु प्रतिवेदन (Climate Reporting) र दिगो विकाससँग सम्बन्धित विषयमा राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। दिगो विकासलाई संस्थागत निर्णय, वित्तीय प्रतिवेदन तथा व्यावसायिक अभ्याससँग जोड्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो।
सम्मेलनमा ESG प्रतिवेदन, जलवायु परिवर्तनबाट सिर्जित वित्तीय जोखिम, दिगो विकास तथा संस्थागत सुशासनलगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। पछिल्लो समय व्यवसाय तथा वित्तीय संस्थाका लागि वातावरणीय र सामाजिक जोखिमको पहिचान, व्यवस्थापन तथा त्यससम्बन्धी पारदर्शी प्रतिवेदन महत्वपूर्ण बन्दै गएकाले सम्मेलनलाई यस क्षेत्रका लागि महत्वपूर्ण छलफलको मञ्चका रूपमा हेरिएको छ।
विशेषगरी बैंक तथा वित्तीय संस्थाको सन्दर्भमा जलवायु जोखिम, ESG मापदण्ड, हरित तथा दिगो वित्त (Green and Sustainable Finance) र दिगोपनसम्बन्धी तथ्यांकको विश्वसनीय प्रतिवेदनको विषय थप महत्वपूर्ण बनेको छ। नेपाल राष्ट्र बैंकले समेत बैंक तथा वित्तीय संस्थामा वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापनलाई जोड दिँदै आएको अवस्थामा लेखा तथा वित्तीय क्षेत्रका पेशाकर्मीको भूमिका पनि विस्तार हुँदै गएको छ।
आइक्यानको सम्मेलनले दिगो विकासका अन्तर्राष्ट्रिय अभ्यास, ESG र जलवायु प्रतिवेदनका बदलिँदा मापदण्ड तथा नेपालमा तिनको कार्यान्वयनका सम्भावनाबारे सरोकारवालाबीच ज्ञान र अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। दिगोपनलाई केवल वातावरणीय विषयका रूपमा नभई वित्त, जोखिम व्यवस्थापन, लेखा, लगानी र दीर्घकालीन व्यावसायिक रणनीतिसँग जोडेर अघि बढाउनुपर्ने सन्देश सम्मेलनले दिने देखिन्छ।
No advertisements available
प्रतिक्रिया 0