नेपाल ८७ रनले विजयी, ओमानमाथि शानदार जितसँगै फाइनलमा

बिहीबार, २५ भदौ २०८३, दिउँसो १:०२

काठमाडौँ । नेपालले एसीसी मेन्स प्रिमियर कप २०२६ को पहिलो सेमिफाइनलमा ओमानलाई ८७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। क्वालालम्पुरस्थित बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनाएको थियो। नेपालका लागि बासिर अहमदले ८८ बलमा ४७ रन तथा दीपेन्द्रसिंह ऐरीले ७६ बलमा ५१ रन बनाए। यी दुईबीच पाँचौँ विकेटका लागि ९३ रनको महत्वपूर्ण साझेदारी भएको थियो।

१४८ रनको लक्ष्य पछ्याएको ओमान नेपाली बलरसामु सुरुदेखि नै दबाबमा परेको थियो। ओमान २८.१ ओभरमा ६० रनमै अलआउट भयो र नेपालले ८७ रनको फराकिलो जित निकाल्यो। ओमानको इनिङ ध्वस्त पार्ने क्रममा कप्तान सन्दीप लामिछानेले ६ ओभरमा ९ रन दिएर ३ विकेट, दीपेन्द्रसिंह ऐरीले ६ ओभरमा ११ रन दिएर ३ विकेट लिए। त्यस्तै ललित राजवंशीले ५ ओभरमा १२ रन दिएर २ तथा रोहित पौडेलले ४.१ ओभरमा ७ रन दिएर २ विकेट लिए।

यससँगै नेपालले प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको छ। १४७ रनको मध्यम योगफल बनाए पनि नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै ओमानलाई ६० रनमै समेटेपछि नेपालले एकतर्फी जित हासिल गरेको हो।

अब फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्ने भएको छ। यूएईले दोस्रो सेमिफाइनलमा हङकङलाई पराजित गर्दै फाइनलमा स्थान बनाएपछि नेपाल र यूएईबीचको उपाधि भिडन्त पक्का भएको हो। प्रतियोगिताको फाइनल सेप्टेम्बर १२ मा क्वालालम्पुरस्थित बायुमास ओभलमा हुनेछ।

प्रतिक्रिया 0