भारत, चीन र यूएईसँग ठूलो व्यापार घाटा, अमेरिकासँग तुलनात्मक सुधार

बुधबार, १० असार २०८३ ०९:५० बिहान
Font Size: 20px

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको कुल व्यापार घाटा १६ खर्ब १६ अर्ब १३ करोड रुपैयाँभन्दा बढी पुगेको छ। भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि जेठ मसान्तसम्म नेपालले १८ खर्ब ९४ अर्ब ९ करोड रुपैयाँ बराबरको वस्तु आयात गर्दा २ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँको मात्रै निर्यात गरेको छ।

तथ्यांकअनुसार नेपालले सबैभन्दा धेरै व्यापार घाटा भारतसँग व्यहोरेको छ। समीक्षा अवधिमा भारतबाट १ खर्ब ९ अर्ब २० करोड रुपैयाँभन्दा बढीको आयात हुँदा २२ अर्ब ८१ करोड रुपैयाँको निर्यात भएको छ। यससँगै भारतसँगको व्यापार घाटा ८६ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ।

चीनसँगको व्यापार घाटा पनि उच्च रहेको छ। चीनबाट ३८ अर्ब २२ करोड रुपैयाँको आयात हुँदा नेपालले जम्मा १५ करोड ९४ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ। फलस्वरूप चीनसँग ३८ अर्ब ६ करोड रुपैयाँभन्दा बढीको व्यापार घाटा देखिएको छ।

त्यसैगरी, संयुक्त अरब इमिरेट्स (यूएई) सँग ४ अर्ब ९३ करोड रुपैयाँ, थाइल्याण्डसँग १ अर्ब ६७ करोड रुपैयाँ, ब्राजिलसँग १ अर्ब ५७ करोड रुपैयाँ, मलेसियासँग १ अर्ब ४० करोड रुपैयाँ तथा युक्रेनसँग ८७ करोड रुपैयाँभन्दा बढीको व्यापार घाटा रहेको छ।

यता, नेपालले केही मुलुकसँग भने व्यापार बचत (Trade Surplus) कायम गरेको छ। सबैभन्दा धेरै व्यापार बचत अमेरिकन सामोआसँग २ करोड ७८ लाख रुपैयाँ, डेनमार्कसँग ७२ करोड रुपैयाँ, संयुक्त राज्य अमेरिकासँग निर्यात–आयात अन्तर तुलनात्मक रूपमा कम देखिएको छ। अमेरिकामा नेपालले १८ अर्ब ५८ करोड रुपैयाँको निर्यात गर्दा २९ अर्ब १० करोड रुपैयाँको आयात गरेको छ।

तथ्यांकले नेपालको विदेशी व्यापार अझै आयातमुखी रहेको स्पष्ट देखाएको छ। निर्यातमा केही सुधार देखिए पनि आयातको उच्च निर्भरताका कारण व्यापार घाटा निरन्तर बढिरहेको अर्थविद्हरूको भनाइ छ। विशेषगरी पेट्रोलियम पदार्थ, सवारीसाधन, मेसिनरी, विद्युतीय सामग्री तथा औद्योगिक कच्चा पदार्थको उच्च आयातले व्यापार घाटा बढाउन योगदान पुर्‍याएको छ।

व्यापार घाटा नियन्त्रणका लागि स्वदेशी उत्पादन वृद्धि, निर्यात प्रवर्द्धन तथा आयात प्रतिस्थापन नीतिलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता तथ्यांकले पुनः औंल्याएको छ।

प्रतिक्रिया 0